चीनको निमन्त्रणामा झलनाथ खनालको सातदिने भ्रमण सुरु

1.8k Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल साताव्यापी भ्रमणका लागि बिहीबार जनवादी गणतन्त्र चीन प्रस्थान गरेका छन्।

चीन सरकारको मैत्रीपूर्ण निमन्त्रणामा खनाल सिचुवान एयरलाइन्सको नियमित उडानमार्फत चीनको राजधानी बेइजिङ गएका हुन्।

खनालको भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू, सरकारी अधिकारी तथा अन्य उच्चस्तरीय प्रतिनिधिहरूसँग भेटवार्ता हुने कार्यक्रम रहेको जनाइएको छ। भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, राजनीतिक सहकार्य, आर्थिक विकास, पूर्वाधार निर्माण तथा आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

साताव्यापी भ्रमणका क्रममा उनले विभिन्न सरकारी तथा राजनीतिक निकायसँग भेटघाट गर्नुका साथै चीनका केही विकास आयोजना र संस्थाको अवलोकन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ।

खनालको चीन भ्रमणलाई नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउन र दुई देशबीचको राजनीतिक तथा आर्थिक सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार