नेपाल–चीन सम्बन्धबारे उच्च तहमा छलफल गर्न बेइजिङ जाँदै रवि लामिछाने

2k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा छन्। उच्च सरकारी स्रोतका अनुसार लामिछानेसहित चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल पाँचदिने भ्रमणका लागि बेइजिङ जाने भएको हो।

भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेतासँग भेटवार्ता हुने निश्चित भएको स्रोतले जनाएको छ। यद्यपि, भेटवार्तामा सहभागी हुने अन्य उच्च नेताहरूको नाम भने सार्वजनिक गरिएको छैन।

सरकारका एक उच्च अधिकारीका अनुसार यो भ्रमण दुई पार्टीबीचको सम्बन्ध (पार्टी–टु–पार्टी) अन्तर्गत हुन लागेको हो। सभापति लामिछानेलाई अघिल्लो संसद् कार्यकालमै चीनबाट औपचारिक निमन्त्रणा आएको भए पनि यसपटक उच्च तहमा थप सार्थक र विस्तृत संवाद हुने वातावरण बनेको उनले बताए।

भ्रमणका क्रममा नेपाल–चीन सम्बन्धलाई अझ गहिरो, प्रभावकारी र अर्थपूर्ण बनाउने विषय मुख्य एजेन्डा रहने जनाइएको छ। साथै द्विपक्षीय राजनीतिक सम्बन्ध, आपसी सहयोग र समसामयिक क्षेत्रीय विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिनिधिमण्डलका अन्य सदस्यहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। पाँचदिने भ्रमणको विस्तृत कार्यतालिका पनि सार्वजनिक हुन बाँकी रहेको स्रोतले जनाएको छ।

सम्बन्धित समाचार