काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले आगामी चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने सरकारको लक्ष्य रहेको बताएका हुन्।
उनले विश्वविद्यालयहरूलाई शैक्षिक उत्कृष्टता, अनुसन्धान, नवप्रवर्तन र सुशासनको केन्द्रका रूपमा विकास गर्न राजनीतिक हस्तक्षेप अन्त्य गर्नु आवश्यक रहेको उल्लेख गरे। त्यसका लागि सरकार आवश्यक कानुनी, नीतिगत तथा संस्थागत सुधार गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।
मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालयको स्वायत्तता सुदृढीकरण र प्रतिस्पर्धी शैक्षिक वातावरण निर्माणमा सरकार केन्द्रित रहेको पनि बताए। उनले विश्वविद्यालयलाई राजनीतिक स्वार्थभन्दा माथि उठाएर ज्ञान, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनको थलो बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।