ठूला भन्सार लक्ष्यमा चुक्दा साना नाकाले राजस्वमा देखाए उत्कृष्ट प्रदर्शन

2k Shares

भैरहवा । लुम्बिनी प्रदेशका प्रमुख भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा समग्र राजस्व संकलनमा सुधार गरे पनि ठूलो राजस्व उठाउने भन्सार नाकाहरूले निर्धारित लक्ष्य पूरा गर्न सकेनन्। विपरीत, साना भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै उल्लेखनीय प्रदर्शन गरेका छन्।

मुलुककै दोस्रो ठूलो भैरहवा (बेलहिया) भन्सारले गत आवमा १ खर्ब ५ अर्ब २ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको ९२.४० प्रतिशत हो। यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा लक्ष्य प्राप्तिको अनुपातमा सुधार भएको भन्सार कार्यालयले जनाएको छ।

यस्तै, नेपालगञ्ज भन्सारले २० अर्ब ९ करोड रुपैयाँ अर्थात् लक्ष्यको ८१.८७ प्रतिशत राजस्व उठाएको छ भने कृष्णनगर भन्सारले ५ अर्ब ४४ करोड रुपैयाँ संकलन गर्दै ९२.८० प्रतिशत लक्ष्य हासिल गरेको छ।

उता, साना भन्सार कार्यालयहरूले भने लक्ष्यभन्दा बढी राजस्व उठाएका छन्। कपिलवस्तुको सुठौली भन्सारले लक्ष्यको १४० प्रतिशत, पश्चिम नवलपरासीको महेशपुर भन्सारले १०९ प्रतिशत र बर्दियाको राजापुर भन्सारले ११५.५४ प्रतिशत राजस्व संकलन गरेका छन्।

भैरहवा भन्सारका प्रमुख हरिहर पौडेलले नाकामा हुने जाम, ओभरलोड जरिवाना तथा केही मालवाहक सवारीले वैकल्पिक नाका प्रयोग गरेका कारण लक्ष्य पूरा गर्न कठिन भएको बताए। तर राजस्व चुहावट नियन्त्रण र व्यापारिक गतिविधि बढ्दै जाँदा अघिल्लो वर्षको तुलनामा राजस्व संकलनमा उल्लेखनीय सुधार भएको उनको भनाइ छ।

भैरहवा भन्सारबाट सबैभन्दा बढी सवारीसाधन, पेट्रोलियम पदार्थ, एलपी ग्यास, फलाम, मोबाइल, सुपारीलगायतका वस्तु आयात हुने गरेका छन् भने प्रशोधित भटमास तेल, सिमेन्ट, प्लाइउड, जडीबुटी, चाउचाउ तथा अन्य औद्योगिक उत्पादन निर्यात हुने गरेको छ।

यसैबीच, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा त्यहाँको भन्सार कार्यालय अपेक्षाअनुसार राजस्व उठाउन असफल भएको छ। दाङको कोइलाबास भन्सारमा पनि न्यून राजस्व संकलन भइरहेको छ। खुला सीमाबाट हुने चोरी–तस्करीले समेत राजस्वमा असर परेको सरोकारवालाहरूको भनाइ छ।

सम्बन्धित समाचार