शिक्षा मन्त्रालयले एजुकेसन कन्सल्टेन्सी क्षेत्रका समस्या र सुधारबारे आज छलफल गर्दै

1.9k Shares

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती तथा नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग विस्तृत छलफल गर्ने भएको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा आयोजना हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रमा आबद्ध विभिन्न संघ–संस्था तथा व्यवसायिक संगठनका पदाधिकारी र प्रतिनिधिहरू सहभागी हुनेछन्।

बैठकमा कन्सल्टेन्सी व्यवसायको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या, गुणस्तरीय शैक्षिक परामर्श सेवाको प्रवर्द्धन, नीतिगत सुधार तथा नियामकीय व्यवस्थाका विषयमा व्यापक छलफल हुने मन्त्रालयले जनाएको छ।

छलफलमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान), शैक्षिक परामर्श व्यवसायी संस्था (एरी), जापानिज भाषा स्कुल संघ (जालसान), नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ (नायर), नेशनल एजुकेसन कन्सल्टेन्सी एसोसिएसन (नेका), नेवा, नेक्सा लगायतका संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

मन्त्रालयका अनुसार बैठकमा 'शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३' सम्बन्धी व्यवस्थामाथि पनि छलफल हुनेछ। साथै, शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालाबाट सुझाव संकलन गरी आवश्यक नीतिगत सुधारका लागि उपयोग गरिने जनाइएको छ।

शिक्षामन्त्री पोखरेलले पछिल्लो समय शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला, शैक्षिक संस्था तथा निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै उनीहरूका सुझावका आधारमा नीतिगत सुधार र आवश्यक समन्वयलाई प्राथमिकता दिँदै आएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार