दाइजो प्रथा अन्त्य गर्न मधेशबाट राष्ट्रिय अभियान

2k Shares

काठमाडौं, साउन ६ — दाइजो प्रथा अन्त्यका लागि मधेश प्रदेशबाट राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र प्रतिनिधिसभाका उपसभामुख रुबी कुमारीबीच विस्तृत छलफल भएको छ।

बुधबार मन्त्रालयमा भएको छलफलमा दाइजो प्रथाजस्तो सामाजिक कुरीति अन्त्य गर्न सरकार, जनप्रतिनिधि, नागरिक समाज, स्थानीय तह तथा समुदायको साझा सहभागितामा देशव्यापी अभियान सञ्चालन गर्ने विषयमा विचार–विमर्श भएको हो।

छलफलका क्रममा दुवै पक्षले मधेश प्रदेशबाट अभियानको शुभारम्भ गरी त्यसलाई क्रमशः देशभर विस्तार गर्ने अवधारणामा सहमति जनाएका थिए। अभियानमार्फत दाइजो नलिने–नदिने संस्कृतिको विकास, जनचेतना अभिवृद्धि तथा विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताइएको छ।

मन्त्री सीता बादीले दाइजो प्रथा महिला हिंसा, लैङ्गिक विभेद र सामाजिक असमानताको प्रमुख कारणमध्ये एक भएकाले यसको अन्त्य सरकारको प्राथमिकतामा रहेको बताइन्। उनले कानुनी व्यवस्थासँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउन व्यापक जनचेतनामूलक अभियान आवश्यक रहेको धारणा राखिन्।

उपसभामुख रुबी कुमारीले दाइजो प्रथा अन्त्य गर्न सबै राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक संघ–संस्था, युवा तथा सञ्चारमाध्यमको सक्रिय भूमिका आवश्यक रहेको बताइन्। उनले मधेशबाट सुरु हुने अभियानले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिन्।

छलफलमा अभियान सञ्चालनका लागि आवश्यक कार्ययोजना, सरोकारवाला निकायबीच समन्वय तथा प्रभावकारी कार्यक्रम सञ्चालनका विषयमा समेत विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। सरकारले दाइजोमुक्त समाज निर्माणलाई अभियानकै रूपमा अघि बढाउने तयारी गरेको पनि जनाइएको छ।

सम्बन्धित समाचार