काठमाडौं, साउन ६ — महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) दिवसका अवसरमा बिहीबार आधा दिन मात्रै सेवा सञ्चालन गर्ने भएको छ।
अस्पताल प्रशासनका प्रमुख भोजराज भट्टद्वारा जारी सूचनाअनुसार त्रिवि दिवसको विशेष कार्यक्रमका कारण बिहीबार अस्पतालका नियमित सेवाहरू आधा दिनसम्म मात्र सञ्चालन हुनेछन्।
अस्पतालले बहिरङ्ग (ओपीडी) लगायतका नियमित सेवामा आंशिक प्रभाव पर्ने जनाएको छ। यद्यपि आकस्मिक (इमर्जेन्सी), सघन उपचार (आईसीयू), प्रसूति, डायलाइसिस तथा अन्य अत्यावश्यक स्वास्थ्य सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने अस्पतालले स्पष्ट पारेको छ।
अस्पताल प्रशासनले सेवाग्राहीलाई अत्यावश्यकबाहेकका सेवा लिन आउँदा समयको व्यवस्थापन गर्न तथा अस्पतालको सूचनाअनुसार सेवा लिन अनुरोध गरेको छ।
काठमाडौं उपत्यकाकै प्रमुख सरकारी स्वास्थ्य संस्थामध्ये एक टिचिङ अस्पतालमा दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि आउने भएकाले अस्पतालले सेवा लिनुअघि सार्वजनिक सूचनालाई ध्यान दिन आग्रह गरेको छ।