काठमाडौं, साउन ६ । नेपाली कांग्रेसले पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कको एक हिस्सा उपयोग गर्दै ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ।
कोषमा प्रारम्भिक रूपमा १० लाख रुपैयाँ जम्मा गरिएको छ, जसलाई विस्थापित सुकुम्बासी परिवार, विशेषगरी एकल महिला तथा विद्यालय जानबाट वञ्चित बालबालिकाको सहयोगमा खर्च गरिने भएको छ।
बीपी कोइरालाको स्मृति दिवसको अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले कोष स्थापना गरिएको घोषणा गर्दै यो अभियान सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने प्रयास भएको बताए।
थापाका अनुसार पार्टी सदस्यहरूले तिरेको सदस्यता शुल्कको निश्चित हिस्सा सामाजिक सेवामा प्रयोग गर्ने निर्णयअनुसार कोष स्थापना गरिएको हो। उनले पार्टीको संगठनलाई राजनीतिक गतिविधिमा मात्र सीमित नराखी विपद्, विस्थापन र मानवीय संकटमा परेका नागरिकको सहयोगमा सक्रिय बनाउने उद्देश्य रहेको बताए।
कोषबाट हुने सहयोग प्रभावकारी बनाउन नेपाल महिला संघ का स्वयंसेवकहरू प्रभावित बस्तीमा परिचालन गरिनेछ। उनीहरूले स्थानीय स्तरमा पुगेर आवश्यकताको पहिचान गर्ने, सहयोग आवश्यक भएका परिवारको विवरण संकलन गर्ने तथा राहत वितरण प्रक्रियामा सहजीकरण गर्नेछन्। साथै, तरुण दल लगायत इच्छुक अन्य स्वयंसेवकलाई पनि अभियानमा सहभागी हुन आह्वान गरिएको छ।
सभापति थापाले ‘ग्रिन रन’ कार्यक्रम केवल जलवायु परिवर्तनबारे जनचेतना फैलाउने अभियान नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको पहल पनि भएको बताए। जलवायु परिवर्तनलाई नेपालको विकास र सार्वजनिक नीतिको प्रमुख एजेन्डा बनाउँदै कांग्रेसले आगामी दिनमा नीति तथा कार्यक्रममार्फत आवश्यक पहल गर्ने उनले उल्लेख गरे।
उनले जननेता बीपी कोइराला ले अघि सारेको समावेशी लोकतन्त्र, सामाजिक न्याय र प्राकृतिक स्रोतमा समान पहुँचको अवधारणा आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै ती मूल्य र सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा अपेक्षाभन्दा बढी सहभागी भएका कारण व्यवस्थापनमा केही असहजता भएको स्वीकार गर्दै थापाले सहभागी युवासँग क्षमायाचना गरे। आगामी कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र सहभागितामूलक बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
यसैबीच, उनले बिहीबारदेखि नेपाली कांग्रेसले देशव्यापी नयाँ अभियान सुरु गर्ने जानकारी दिँदै त्यसको विस्तृत विवरण भोलि सार्वजनिक गरिने बताए।