देश सरकारमा तीन दलको सहकार्यको प्रस्ताव, ओलीसँग प्रचण्डको छलफल

2.3k Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच सहकार्य आवश्यक रहेको प्रस्ताव अघि सारेका छन्।

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासमा भेटेका प्रचण्डले प्रदेशमा बन्ने नयाँ सरकार आगामी निर्वाचनसम्म प्रभाव पार्ने भएकाले संविधान पक्षधर दलहरूबीच सहकार्य गर्नुपर्ने धारणा राखेका हुन्।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार करिब एक घण्टा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, प्रदेश सरकारमा देखिएको संकट र सम्भावित सत्ता सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो।

प्रचण्डले प्रदेश सरकार गठनलाई केवल बहुमतको अंकगणितमा सीमित नराखी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने साझा उद्देश्यका साथ सबै प्रमुख दललाई समेट्ने गरी सरकार गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए।

उनले प्रदेशमा सर्वदलीय सरकार गठन भए संविधानको रक्षा, राजनीतिक स्थायित्व र संघीय सरकारलाई प्रभावकारी खबरदारी गर्न सहज हुने तर्क पनि प्रस्तुत गरेका थिए।

स्रोतका अनुसार प्रचण्डको प्रस्तावप्रति एमाले अध्यक्ष ओलीले असहमति जनाएका छैनन्। एमाले स्रोतले कांग्रेस र नेकपासहितको सहकार्यप्रति एमाले सकारात्मक रहेको जनाएको छ।

यसअघि प्रचण्डले सोमबार नेकपाका सह–संयोजक माधव नेपालसँग लामो छलफल गरी प्रदेश सरकार गठनबारे पार्टीको साझा धारणा तयार पारेका थिए। नेकपाले बहुमतको अर्को सरकार बनाउँदै जानेभन्दा संकटको अवस्थामा सर्वदलीय सरकार उपयुक्त विकल्प हुन सक्ने निष्कर्ष निकालेको जनाएको छ।

यद्यपि कांग्रेसले भने प्रतिपक्षविहीन प्रदेश सरकारको अवधारणाप्रति असहमति जनाएको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले कुनै पनि प्रदेश सभामा प्रतिपक्षको भूमिका समाप्त हुने अवस्था स्वीकार्य नहुने स्पष्ट गर्दै आवश्यक परे कांग्रेस प्रतिपक्षमै बस्न तयार रहेको बताएका छन्।

यसबीच नेकपाले कांग्रेससँग पनि औपचारिक संवाद गरी तीन दलबीच सहकार्यको प्रस्ताव राख्ने तयारी गरेको छ। प्रचण्डले जनकपुर भ्रमणपछि काठमाडौं फर्केर कांग्रेस नेतृत्वसँग छलफल गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ।

नेकपाका तीन सम्भावित विकल्प

प्रदेश सरकार गठनबारे नेकपाले तीनवटा सम्भावित रणनीति अघि सारेको बताइएको छ।

-पहिलो, प्रदेश सरकारमा सहभागी नहुने।

-दोस्रो, कांग्रेस, एमाले र नेकपासहित सबै प्रमुख दलको सहभागितामा सर्वदलीय सरकार गठन गर्ने।

-तेस्रो, यदि सर्वदलीय सहमति सम्भव नभए वामपन्थी दलबीच सहकार्य गर्दै प्रदेश सरकार गठन गर्ने र त्यसलाई दीर्घकालीन वाम एकताको आधार बनाउने ।

नेकपाका नेताहरूका अनुसार पार्टीले तत्कालीन राजनीतिक परिस्थितिअनुसार यी विकल्पमध्ये उपयुक्त रणनीति अपनाउने तयारी गरेको छ।

सम्बन्धित समाचार