बाँकेमा हलो विस्थापित, ट्याक्टर र पावर टिलरबाट ७० प्रतिशत धान रोपाइँ सम्पन्न

1.3k Shares

नेपालगन्ज। बाँकेमा परम्परागत हलो र गोरुले खेत जोत्ने प्रचलन लगभग हराउँदै गएको छ। समयसँगै कृषि क्षेत्रमा यान्त्रिकीकरण बढेपछि किसानहरू ट्याक्टर र पावर टिलरको प्रयोगतर्फ आकर्षित भएका छन्।

धान रोपाइँको याममा जिल्लाका अधिकांश खेतमा गोरु वा राँगाले जोतेको दृश्य देखिन छाडेको छ। यसको सट्टा ट्याक्टर र पावर टिलरले खेत जोत्न थालेपछि रोपाइँको काम छिटो, सहज र समयमै सम्पन्न हुन थालेको किसानहरू बताउँछन्।

जानकी गाउँपालिका–३ कर्मनाका किसान सुन्दर खटिकले आफूले धेरै वर्षदेखि ट्याक्टर प्रयोग गरेर खेती गर्दै आएको बताए। यस वर्ष दुई बिघा जमिन अधियामा खेती गरिरहेको उल्लेख गर्दै उनले खेत जोत्न प्रतिघण्टा २ हजार ५ सयदेखि ३ हजार रुपैयाँसम्म तिर्नुपरेको जानकारी दिए।

उनका अनुसार अधिकांश किसानका घरमा गोरु वा राँगा नरहेकाले अहिले ट्याक्टर र पावर टिलर नै मुख्य विकल्प बनेका छन्। यद्यपि मलखाद, मजदुरी र कृषि उपकरणको खर्च बढेकाले धानखेतीको लागत पनि वर्षेनि बढ्दै गएको उनको भनाइ छ। उनले समयमै रासायनिक मल उपलब्ध गराउन र साना किसानलाई सहुलियत दिन सरकारसँग आग्रह गरे।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले कृषि प्रणालीमा यान्त्रिकीकरण तीव्र रूपमा विस्तार भइरहेको बताए। उनका अनुसार स्थानीय तहहरूले किसानलाई हाते ट्याक्टर, पावर टिलरलगायत कृषि उपकरण वितरण गरिरहेका छन्।

उनले जिल्लामा हालसम्म करिब ७० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको जानकारी दिए। सिँचाइ सुविधा भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ भने वर्षाको भरमा खेती हुने क्षेत्रमा अझै रोपाइँ जारी छ। कोहलपुर, बैजनाथ र राप्तीसोनारीका अधिकांश खेतमा रोपाइँ सम्पन्न भइसकेको जनाइएको छ।

नेपालगन्ज उपमहानगरपालिका–१७ का किसान जैनुल शेखले करिब १२ वर्षदेखि गोरुले खेत जोतेको दृश्य नदेखेको बताए। अहिले अधिकांश किसानले ट्याक्टर र पावर टिलर प्रयोग गरिरहेको उल्लेख गर्दै उनले यस वर्ष ‘राम’ जातको धानसँगै हाइब्रिड धानको खेती पनि उल्लेख्य रूपमा बढेको जानकारी दिए।

उनका अनुसार रोपाइँ गर्ने मजदुरको पारिश्रमिक पनि बढेको छ। हाल दिनभर काम गरेबापत ६०० देखि ९०० रुपैयाँसम्म ज्याला दिनुपर्ने अवस्था रहेको उनले बताए।

कृषि ज्ञान केन्द्र बाँकेकी कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी सुजिता शर्माका अनुसार प्रदेश सरकार स्थापना भएयता यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा १८० वटा पावर टिलर, थ्रेसरलगायत कृषि उपकरण ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ। उपकरण वितरणसँगै सञ्चालन र मर्मतसम्बन्धी तालिमसमेत सञ्चालन भइरहेको उनले जानकारी दिइन्।

जिल्लाको ५५ हजार ८२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ७८० हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ। हालसम्म २० हजार २६८ हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।

सम्बन्धित समाचार