प्रदेश सरकार फेरबदलको चर्चा तीव्र, नयाँ सत्ता समीकरणको खोजीमा शीर्ष दल

1.8k Shares

काठमाडौं। केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार रहे पनि प्रदेशमा कांग्रेस–एमाले गठबन्धनबाट बनेका सरकारहरू संकटमा पर्न थालेपछि नयाँ सत्ता समीकरणको बहस तीव्र बनेको छ। कांग्रेस, एमाले र नेकपाबीच औपचारिक निर्णय नभए पनि विभिन्न विकल्पमा छलफल भइरहेको नेताहरूले बताएका छन्।

सुदूरपश्चिम प्रदेशमा बजेट पारित गर्ने क्रममा देखिएको विवादपछि कांग्रेस–एमाले गठबन्धन कमजोर बन्दै गएको विश्लेषण गरिएको छ। यद्यपि दुवै दलले गठबन्धन अन्त्य भएको औपचारिक घोषणा भने गरेका छैनन्।

कांग्रेसका महामन्त्री गुरु घिमिरेले एमालेसँगको सहकार्यबारे पुनर्विचार भइरहेको स्वीकार गर्दै औपचारिक निर्णय हुन बाँकी रहेको बताए। एमाले उपाध्यक्ष रघुजी पन्तले पनि गठबन्धनको भविष्यबारे अन्तिम निष्कर्षमा नपुगिएको प्रतिक्रिया दिएका छन्।

कांग्रेसभित्र प्रदेश सरकारबारे मत विभाजित देखिएको छ। शेरबहादुर देउवा निकट समूह एमालेसँगको सहकार्य कायम राख्नुपर्ने पक्षमा छ भने संस्थापन पक्ष नेकपासँग सहकार्य गर्नुपर्ने मतमा रहेको बताइएको छ।

यता नेकपाभित्र पनि वाम गठबन्धन पुनः ब्युँताउने र कांग्रेससँग सहकार्य गर्ने दुई धार देखिएका छन्। नेकपा नेता राजेन्द्र पाण्डेले कुनै पनि निर्णयअघि सबै पक्षसँग स्पष्ट छलफल, सहमति र साझा खाका आवश्यक रहेको बताए। उनले प्रदेश सरकार प्रतिपक्षविहीन बन्न नहुने धारणा पनि व्यक्त गरे।

यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले प्रदेशमा ठूला दलहरूबीचको गठबन्धन उपयुक्त नहुने मत सार्वजनिक गरेका छन् भने वाम गठबन्धनको सम्भावनाबारे पनि विभिन्न तहमा छलफल भइरहेको बताइएको छ।

प्रदेश सांसद काठमाडौंमा

प्रदेश सरकारको भविष्यबारे छलफल गर्न विभिन्न प्रदेशका सांसदहरू काठमाडौं आएका छन्। उनीहरूले पार्टीका शीर्ष नेताहरूसँग प्रदेशको राजनीतिक अवस्थाबारे ब्रिफिङ गरिरहेका छन्।

कोशी प्रदेशका नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णय नै अन्तिम हुने भएकाले त्यसको प्रतीक्षामा रहेको बताए। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाही, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलसहित विभिन्न प्रदेशका नेता तथा सांसदहरू पनि काठमाडौंमा सक्रिय छलफलमा छन्।

ओली–प्रचण्ड संवादको प्रतीक्षा

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पछिल्लो समय सम्बन्ध सुधार भएको चर्चा भए पनि औपचारिक भेट अझै भएको छैन। सोमबार सञ्चारकर्मीसँग ओलीले कांग्रेस–एमाले गठबन्धन टुटे अन्य दलसँग सहकार्य गर्न सकिने संकेत दिएका थिए।

उता प्रचण्ड र माधवकुमार नेपालबीच भएको छलफलमा कांग्रेस र एमाले दुवैसँग संवाद अघि बढाउने, तर अन्तिम निर्णय पारस्परिक सल्लाहमै गर्ने समझदारी भएको बताइएको छ।

ओलीको सचिवालयले पनि निकट भविष्यमा प्रचण्डसँग भेटवार्ता हुन सक्ने संकेत दिएको छ भने प्रचण्ड पक्षले पनि आवश्यकताअनुसार संवाद हुने जनाएको छ।

प्रदेशबाट वाम एकताको दबाब

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही प्रदेश सांसदहरूले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई ध्यानमा राख्दै वाम शक्तिहरूबीच सहकार्य आवश्यक रहेको सुझाव नेतृत्वलाई दिएका छन्।

यद्यपि नेकपाभित्र एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि कायमै रहेको बताइन्छ। कतिपय नेताहरूले ओली लचिलो बने मात्रै वाम गठबन्धन सम्भव हुने धारणा राखेका छन्।

हाल कोशी, लुम्बिनी र कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकार छ भने मधेश, बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार सञ्चालनमा छन्। नयाँ सत्ता समीकरण बनेमा प्रदेश सरकारहरूको नेतृत्व र शक्ति सन्तुलनमा ठूलो फेरबदल हुन सक्ने आकलन गरिएको छ।

सम्बन्धित समाचार