देउवाको स्वदेश फर्किने घोषणा, सरकारमाथि प्रतिशोधको राजनीति गरेको आरोप
2.1k
Shares
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि आफू स्वदेश फर्किन लागेको घोषणा गरेका छन्।
जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा हङकङबाट जारी सन्देशमार्फत उनले पछिल्ला राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रतिशोधको राजनीतिविरुद्ध सबै लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरेका हुन्।
स्वास्थ्य उपचारका क्रममा केही महिनादेखि परिवारसहित विदेशमा रहेका देउवाले आफ्नो ध्यान निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको उल्लेख गर्दै अब लोकतान्त्रिक मूल्य, संविधानवाद र राष्ट्रियताको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न स्वदेश फर्कने बताएका छन्।
सन्देशमा देउवाले बिपी कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र राष्ट्रिय मेलमिलापको उनको विचार नै आफ्नो राजनीतिक यात्राको मार्गदर्शक रहेको उल्लेख गरेका छन्। बिपीकै नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्न पाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो सौभाग्य भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र जनअधिकारको पक्षमा आफ्नो अडान कहिल्यै नबदलिएको बताएका छन्।
उनले विगत छ दशकभन्दा बढी समय नेपाली कांग्रेसको साधारण कार्यकर्तादेखि पार्टी नेतृत्वसम्मको यात्रामा निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध संघर्ष गरेको स्मरण गरेका छन्।
जेल, प्रतिबन्ध र राजनीतिक दमनका बीच पनि लोकतन्त्रको पक्षमा निरन्तर उभिएको उल्लेख गर्दै कांग्रेसले शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड–१९ महामारीका बेला जिम्मेवार भूमिका निर्वाह गरेको बताएका छन्।
देउवाले वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाएको आरोप लगाएका छन्।
स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय तथा लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको दाबी गर्दै उनले राजनीतिक पूर्वाग्रहका आधारमा दमन गर्ने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि अस्वीकार्य भएको बताएका छन्।
न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखेर प्रतिपक्षलाई आतंकित गर्ने प्रयास भइरहेको आरोपसमेत उनले लगाएका छन्। फरक विचारप्रति असहिष्णुता र राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग लोकतान्त्रिक मूल्यविपरीत भएको उनको भनाइ छ।
देउवाले अहिले देशलाई विभाजन होइन एकता, अविश्वास होइन विश्वास र प्रतिशोध होइन सहकार्य आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय संवाद र साझा सहकार्यमा जोड दिएका छन्।
उनले लोकतन्त्र, संविधानवाद, राष्ट्रियता र जनअधिकारको रक्षाका लागि सबै राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता र आम नेपालीलाई एकजुट हुन आह्वान गरेका छन्।