इरान–अमेरिका तनाव चुलियो: अमेरिकी सैन्य अड्डामाथि थप शक्तिशाली आक्रमण गर्ने तयारी
3.8k
Shares
तेहरान । मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव थप चुलिँदै गएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका बन्दरगाहमा नाकाबन्दी गर्ने चेतावनी दिएसँगै इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामाथि थप निर्णायक र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी)ले होर्मुज जलडमरूमध्य पार गर्ने प्रयास गरिरहेका दुई तेल ट्याङ्करलाई रोकेर नियन्त्रणमा लिएको जनाएको छ। घटनाका क्रममा ट्याङ्करमा विस्फोट र आगलागी भएको दाबी गरिएको छ।
पछिल्लो झडपमा कम्तीमा तीन अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानविरुद्ध नयाँ चरणको सैन्य अभियान सुरु गरेको जनाएको छ। अमेरिकी पक्षका अनुसार अभियानको उद्देश्य होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजमाथि आक्रमण गर्न सक्ने इरानी सैन्य क्षमतामा कमी ल्याउनु हो।
यसअघि इरानी सेनाले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य प्रतिष्ठान, हवाई रक्षा प्रणाली, राडार तथा प्रशासनिक भवनलाई लक्षित गरी मिसाइल आक्रमण गरेको दाबी गरेको थियो। इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार थप शक्तिशाली आक्रमणको तयारी भइरहेको जनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रत्येक अमेरिकी सैनिकको मृत्युको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। उता, इरानी राष्ट्रपति मसूद पेजेस्कियनले द्वन्द्व पूर्ण रूपमा चर्किएको बताएका छन्।
पेन्टागनका अनुसार जुलाई ७ यता भएका घटनामा करिब १०० अमेरिकी सैनिक घाइते भएका छन्।
यसैबीच, इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाका बन्दरगाह अवरुद्ध गर्ने घोषणा गरेका छन्। यस्तो कदमले विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरूमध्यमा थप जोखिम सिर्जना गर्ने र विश्व ऊर्जा बजारमा असर पार्ने आकलन गरिएको छ।
साउदी अरेबियाले हुथीहरूको चेतावनीको कडा निन्दा गर्दै यसले क्षेत्रीय स्थायित्वमा गम्भीर असर पार्ने जनाएको छ।
अप्रिलमा भएको युद्धविराम र जुनमा भएको सहमति प्रभावहीन बनेपछि मध्यपूर्वमा पुनः सैन्य तनाव बढेको छ। इरानले होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण कडा बनाएको छ भने अमेरिकाले पनि इरानी बन्दरगाहमाथि दबाब बढाएको बताइएको छ।
युद्धका कारण अन्तर्राष्ट्रिय तेल बजारमा मूल्यमा उतारचढाव देखिएको छ। यद्यपि होर्मुज मार्ग प्रभावित भए पनि साउदी अरेबियाले लाल सागरस्थित यानबु बन्दरगाहमार्फत लाखौं ब्यारेल तेल निर्यात जारी राखिरहेको जनाइएको छ।
यसैबीच, कूटनीतिक पहल पनि जारी रहेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्तामार्फत वासिङ्टनसँग संवाद भइरहेको बताएका छन्।
इरानका गृहमन्त्री इस्कन्दर मोमेनी दुईदिने भ्रमणका लागि पाकिस्तान पुगेका छन्। भ्रमणका क्रममा उनले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र सेना प्रमुख असीम मुनीरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस्तै, लेबनानका राष्ट्रपति जोसेफ आउनले पनि वासिङ्टनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट गर्ने कार्यक्रम तय भएको जनाइएको छ।