‘प्रधानमन्त्रीको गाडीमा पनि ब्रेक लाग्दो रहेछ’ : शंकर पोखरेल

1.6k Shares

काठमाडौं । शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता गर्ने प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को घोषणाप्रति नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले व्यंग्य गरेका छन्।

प्रधानमन्त्री बालेनले मंगलबार सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्कालका लागि लागू नगर्ने निर्णय भएको जानकारी दिएका थिए। उक्त निर्णय सार्वजनिक भएपछि एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

पोखरेलले लेखेका छन्, ‘प्रधानमन्त्रीको गाडीमा पनि ब्रेक लाग्दो रहेछ। हो, यस्तैगरी जनताका विरोधका स्वर सुनेर सच्चिनुपर्छ। भड्किएपछि पछि फर्किनुपर्छ।’ उनको टिप्पणी प्रधानमन्त्री बालेनले यसअघि दिएको ‘एक्सप्रेस वे’ सम्बन्धी अभिव्यक्तिलाई लक्षित गर्दै आएको बुझिएको छ।

गत चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा प्रधानमन्त्री बालेनले आफ्नो सरकार तीव्र गतिमा अघि बढिरहेको भन्दै ‘सरकार एक्सप्रेस वेमा गुडेको छ, गन्तव्यमा नपुगी ब्रेक लाग्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिलाई स्मरण गराउँदै पोखरेलले सरकारले अन्ततः जनदबाबका कारण निर्णय फिर्ता लिनुपरेको भन्दै व्यंग्य गरेका हुन्।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता शुल्क लगाउने व्यवस्था गरेको थियो। उक्त निर्णयको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि कर लागू नगर्ने निर्णय भएको घोषणा गरेका छन् ।

सम्बन्धित समाचार