पहिरो र बाढीले इलामको सडक सञ्जाल ठप्प, इन्धन र ग्यास अभावको जोखिम

1.1k Shares

इलाम । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसँगको मुख्य सडक सम्पर्क पूर्ण रूपमा प्रभावित भएको छ।

मेची राजमार्गअन्तर्गत माइखोलाको राजदुवाली सडक खण्ड विगत १५ दिनदेखि अवरुद्ध हुँदा मेची पहाडका सर्वसाधारणले सास्ती भोगिरहेका छन् । राजमार्ग बन्द भएसँगै इलामबाट झापातर्फ आवतजावतका लागि भरपर्दो सडकमार्ग नहुँदा यात्रु र स्थानीयवासी समस्यामा परेका छन्।

वैकल्पिक रूपमा प्रयोग हुँदै आएका केचना–कञ्चनजङ्घा सडक र तिल्केनी–सिमल गोलाई सडकमा पर्ने पुवाखोला र जोगमाई खोलाका डाइभर्सन बाढीले पटक–पटक बगाइदिँदा ती मार्ग पनि सञ्चालनमा आउन सकेका छैनन्।

सडक डिभिजन कार्यालय इलामका इन्जिनियर अर्जुन घिमिरेका अनुसार बाढी घटेपछि अस्थायी डाइभर्सन निर्माण गरिए पनि पुनः आएको बाढीले बगाउने क्रम रोकिएको छैन। राजदुवाली सडक खण्डमा भने खोला किनारमा पर्खाल निर्माण भइरहेको र माथिबाट सडक निरन्तर भासिँदै गएकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिन रहेको उनले बताए।

उनका अनुसार सडक पुनः सञ्चालन गर्न पहिला तल्लो भागमा पर्खाल निर्माण गरी माटो भराइ (फिलिङ) गर्नुपर्ने र त्यसपछि मात्रै सडकको ट्र्याक पुनः निर्माण गर्न सकिने अवस्था छ।

मुख्य तथा वैकल्पिक दुवै सडक अवरुद्ध भएपछि बिरामीलाई स्ट्रेचरमा बोकेर पहिरो पार गराउनुपर्ने अवस्था सिर्जना भएको छ भने यात्रुहरू जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य छन्। वैकल्पिक मार्ग प्रयोग गरेर ताप्लेजुङतर्फ गएका मालवाहक सवारीसाधन पनि बीच बाटोमै अलपत्र परेका छन्।

सडक अवरुद्ध हुँदा इन्धन, खाना पकाउने ग्यास र अन्य दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत समस्या देखिन थालेको छ। इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले सीमित मात्रामा भित्रिएका उपभोग्य सामग्रीमा ढुवानी लागत अत्यधिक बढेकाले उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको बताए।

उनले सडक सञ्चालनमा ढिलाइ भए अत्यावश्यक वस्तुको अभाव अझ गहिरिने चेतावनी दिँदै समस्या समाधानमा तत्काल पहल नभए स्थानीयवासी आन्दोलनमा उत्रिन सक्ने अवस्था आउने बताए।

सम्बन्धित समाचार