काठमाडौं, साउन ५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का सांसदहरूलाई युवामाझ पुगेर उनीहरूका चिन्ता र अन्योल हटाउन सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन्। साथै, प्रश्नपत्र लीकमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कडा कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
मंगलबार ‘मंगल मिलन’ नाम दिइएको एनडिए संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विद्यार्थीको हित संरक्षण सरकारको प्राथमिकतामा रहेको बताउँदै उनीहरूलाई आश्वस्त पार्न सांसदहरूलाई आग्रह गरेका हुन्।
बैठकबारे जानकार स्रोतका अनुसार मोदीले प्रश्नपत्र लीक प्रकरणमा पक्राउ परेकालाई कडाभन्दा कडा सजाय दिइने उल्लेख गर्दै विपक्षी दलले फैलाइरहेको भ्रमबारे पनि विद्यार्थीलाई सचेत गराउन सांसदहरूलाई निर्देशन दिएका थिए।
हाल परीक्षा सञ्चालनमा भएको अनियमितता र प्रश्नपत्र लीकको विरोधमा विद्यार्थीहरू आन्दोलनमा छन्। संसदको मनसुन अधिवेशन सुरु भएसँगै यो विषय संसदभित्र र बाहिर प्रमुख बहसको विषय बनेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय मन्त्री किरेन रिजिजुले प्रधानमन्त्रीले देशले पछिल्ला महिनामा हासिल गरेका उपलब्धि, विभिन्न मुलुकसँग भएका स्वतन्त्र व्यापार सम्झौता तथा राष्ट्रिय महत्वका विषयमा सांसदहरूलाई मार्गदर्शन गरेको बताए।
रिजिजुले प्रधानमन्त्रीले किसानको हितलाई सरकारले उच्च प्राथमिकतामा राख्ने स्पष्ट पारेको जानकारी दिँदै कुनै पनि स्वतन्त्र व्यापार सम्झौताले किसान र देश दुवैको हित सुनिश्चित गर्ने गरी अघि बढाइने बताए।
बैठकमा नवनिर्वाचित राज्यसभा सदस्यहरूलाई स्वागत गरिएको थियो। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नविन पनि पार्टी अध्यक्ष बनेपछि पहिलो पटक राज्यसभा सदस्यका रूपमा बैठकमा सहभागी भएका थिए।