वैदेशिक रोजगारी रोक्ने होइन, मर्यादित र सुरक्षित बनाउने हो’ : श्रममन्त्री यादव

1.8k Shares

काठमाडौं, साउन ५ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई तत्काल रोक्न सम्भव नभएको भन्दै त्यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताएका छन्।

मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले आजको विश्व ‘ग्लोबल भिलेज’ बनेको उल्लेख गर्दै रोजगारीका लागि एक देशबाट अर्को देशमा जाने प्रक्रिया स्वाभाविक भएकाले वैदेशिक रोजगारी रोक्नेभन्दा त्यसलाई सुरक्षित बनाउनु सरकारको प्राथमिकता भएको बताए।

उनले नेपाली श्रमिक शोषणमा नपरून्, उचित पारिश्रमिक पाऊन् तथा सुरक्षित कार्यस्थल, आवास र आधारभूत सेवा–सुविधा सुनिश्चित होस् भन्ने उद्देश्यले युरोपेली मुलुकहरूसँग श्रम सम्झौताको पहल भइरहेको जानकारी दिए। साथै उच्च प्रतिफल र सुरक्षित रोजगारी उपलब्ध हुने नयाँ श्रम गन्तव्यको खोजीमा सरकार सक्रिय रहेको उनको भनाइ छ।

मन्त्री यादवले आन्तरिक श्रम बजार सुधारका लागि पनि मन्त्रालयले डिजिटल प्रणाली विस्तार गर्न लागेको बताए। उनका अनुसार वैदेशिक रोजगार विभागबाट सुरु गरिएको अनलाइन उजुरी प्रणालीजस्तै श्रम विभागमार्फत पनि आन्तरिक श्रम शोषणसम्बन्धी उजुरी दर्ता गर्न सकिने अनलाइन प्लेटफर्म छिट्टै सञ्चालनमा ल्याइनेछ।

उनले यस प्रणाली लागू भएपछि श्रमिकहरूले सामान्य सेवाका लागि समेत श्रम कार्यालय धाइरहनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे। यसले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने उनले बताए।

विगतमा कानुन कार्यान्वयन कमजोर हुँदा ठगी गर्नेहरूको मनोबल बढेको स्वीकार गर्दै मन्त्री यादवले अब वैदेशिक रोजगार क्षेत्रका अनियमितता र ठगीमा संलग्नविरुद्ध सरकार निर्मम रूपमा प्रस्तुत हुने चेतावनी दिए।

मन्त्री यादवले वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन सरकार परिणाममुखी ढंगले काम गरिरहेको उल्लेख गर्दै यस अभियानमा सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको बताए।

सम्बन्धित समाचार