हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न प्रकृतिका १३५ वटा मुद्दा दर्ता भएकोमा ७७ वटा मुद्दा फर्छ्योट भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार अपराध अनुसन्धान तथा नियन्त्रणअन्तर्गत २३ शीर्षकका मुद्दा दर्ता भएका थिए। तीमध्ये अभद्र व्यवहारसम्बन्धी मुद्दा सबैभन्दा बढी रहेका छन् र ती सबै शतप्रतिशत फर्छ्योट गरिएको प्रहरीले जनाएको छ। यस्तै, लागुऔषधसम्बन्धी दर्ता भएका २५ वटै मुद्दाको पनि टुंगो लगाइएको छ।
प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार असार महिनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४३ वटा उजुरी दर्ता भएकोमा ३५ वटा उजुरी फर्छ्योट भएका छन्।
यस अवधिमा घरेलु हिंसासम्बन्धी ३६ उजुरी परेकोमा १९ वटा मिलापत्रमार्फत समाधान गरिएको छ भने तीन वटा मुद्दा अदालतमा पठाइएको प्रहरीले जनाएको छ।
हराएका व्यक्तिको खोजीमा पनि प्रहरीले उल्लेखनीय प्रगति हासिल गरेको छ। असार महिनामा हराएका १७ महिलामध्ये १३ जना, छ पुरुषमध्ये तीन जना तथा १५ बालबालिकामध्ये १४ जना फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै, कार्यालयमा परेका १४६ वटा ठाडो उजुरीमध्ये १४० वटा फर्छ्योट गरिएको छ भने जिल्ला प्रशासन कार्यालयबाट प्राप्त १६ उजुरीमध्ये ११ वटाको पनि समाधान गरिएको प्रहरीले जनाएको छ।