बीपी स्मृति दिवसअघि कांग्रेसभित्र ध्रुवीकरण तीव्र

1.5k Shares

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक विवाद अझै समाधान हुन नसक्दा पार्टीभित्रको शक्ति संघर्ष चर्किएको छ। नेतृत्व चयन, संगठनात्मक निर्णय, क्रियाशील सदस्यता अद्यावधिक तथा १५औँ महाधिवेशनको तयारीलाई लिएर संस्थापन र संस्थापन इतर समूहबीचको मतभेद झन् गहिरिँदै गएको हो।

विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयन र संगठन पुनर्संरचनासम्बन्धी विषयमा सहमति जुट्न नसकेपछि दुवै पक्षबीच आरोप–प्रत्यारोप जारी छ। संस्थापन इतर समूहले छुट्टै भेला, परामर्श र शक्ति प्रदर्शनलाई तीव्र बनाएको छ भने संस्थापन पक्षले विधानअनुसार अघि बढिरहेको दाबी गरेको छ।

चौधौँ महाधिवेशन कार्यसमितिका प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माले अदालतको निर्णयपछि पनि सभापति गगन थापाले सहमतिको पहल नगरेको आरोप लगाउँदै देशभरका कार्यकर्ताको सुझाव संकलनपछि राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिएको बताए। उनका अनुसार पार्टी एकताका लागि पटक–पटक लचकता अपनाइए पनि नेतृत्वबाट सार्थक पहल नभएकाले राष्ट्रिय भेला अपरिहार्य बनेको हो।

पूर्व प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूहरू पार्टी फुटको पक्षमा नरहेको स्पष्ट पार्दै निष्पक्ष १५औँ महाधिवेशन गराउने प्रतिबद्धता आए अन्य कुनै माग नरहेको बताए। उनले विधानअनुसार गठन हुने सबै समितिमा दुवै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्ने र क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक पार्टीले नै गर्नुपर्ने धारणा राखे।

यता संस्थापन पक्षका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सदस्यता डिजिटल प्रणालीमा अद्यावधिक गरिने बताए। उनले लामो समयदेखि नेतृत्वमा रहेका नेताले नयाँ पुस्तालाई अवसर दिनुपर्ने उल्लेख गर्दै १५औँ महाधिवेशनलाई साझा बनाउन सभापति तयार रहेको दाबी गरे।

उपसभापति पुष्पा भुसालले पार्टीभित्र कुनै समूहको राजनीति नभई साझा कांग्रेस निर्माण गर्ने लक्ष्य रहेको बताइन्। उनले समय र जनताको अपेक्षाअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै युवालाई प्राथमिकतामा राख्ने नीति रहेको स्पष्ट पारिन्।

यसैबीच, बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा संस्थापन इतर समूहले समानान्तर कार्यक्रम गर्ने तयारी गरेको छ। साउन ६ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाबाट राष्ट्रिय भेलाको मिति तय गरिने जनाइएको छ।

उता कांग्रेसले भने सोही दिन संगठन सुदृढीकरणका लागि सञ्चालन गरिएको ‘जरा अभियान’ समापन गर्ने भएको छ। महामन्त्री प्रदीप पौडेलले जारी गरेको परिपत्रअनुसार देशभर सञ्चालन भएको अभियान बीपी स्मृति दिवसका अवसरमा जिल्ला तहमा विशेष कार्यक्रम गरी समापन गरिनेछ। अभियानअन्तर्गत क्रियाशील सदस्यता वितरण, अद्यावधिक र संगठन विस्तारका कार्यलाई अन्तिम चरणमा पुर्‍याइएको कांग्रेसले जनाएको छ।

पार्टीभित्र सदस्यता अद्यावधिक, महाधिवेशनको तयारी र संगठनात्मक संरचनालाई लिएर विवाद बढिरहे पनि दुवै पक्षले सार्वजनिक रूपमा भने पार्टी एकतालाई नै प्राथमिकता दिने बताउँदै आएका छन्। तर समानान्तर गतिविधि र चर्किंदो अविश्वासका कारण कांग्रेसभित्रको आन्तरिक संकट अझै गहिरिने संकेत देखिएको छ।

सम्बन्धित समाचार