रुपन्देहीमा अत्यधिक वर्षा, बाढी–पहिरोको जोखिमबाट सतर्क रहन आग्रह

1.4k Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी १५३.२ मिलिमिटर वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको छ।

विभागका मौसमविद् बिनु महर्जनका अनुसार सो अवधिमा मधेस प्रदेशमा भने अपेक्षाकृत कम वर्षा भएको छ। पछिल्लो छ घण्टामा देशका कुनै पनि क्षेत्रमा भारी वर्षा नभएको र अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको उनले जानकारी दिइन्। लुम्बिनी प्रदेशको पश्चिमी तराईमा पछिल्लो छ घण्टामा २४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार