चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षतिबापत गत आर्थिक वर्षमा एक करोड २९ लाख ९८ हजार ३०७ रुपैयाँ राहत वितरण गरिएको छ। उक्त रकम मानवीय क्षतिसँगै पशुधन, अन्नबाली, घरगोठ तथा अन्य भौतिक क्षतिको राहतस्वरूप उपलब्ध गराइएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार वन्यजन्तुको आक्रमणबाट सामान्य घाइते भएका व्यक्तिको उपचारका लागि एक लाख ३४ हजार १७६ रुपैयाँ र गम्भीर घाइतेको उपचारका लागि २९ लाख ४२ हजार ४८१ रुपैयाँ राहत प्रदान गरिएको छ।
त्यस्तै, वन्यजन्तुको आक्रमणबाट पाँच जनाको मृत्यु भएपछि उनीहरूका परिवारलाई ५० लाख रुपैयाँ राहत उपलब्ध गराइएको उनले बताए।
वन्यजन्तुले पशुधनमा पुर्याएको क्षतिबापत २३ लाख ६० हजार २०० रुपैयाँ, भण्डारण गरिएको अन्नमा भएको क्षतिबापत ७० हजार रुपैयाँ, घरगोठमा भएको क्षतिबापत तीन लाख ३९ हजार ६५० रुपैयाँ, अन्नबालीमा भएको क्षतिबापत २१ लाख आठ हजार ३०० रुपैयाँ तथा कुखुरामा भएको क्षतिबापत ४३ हजार ५०० रुपैयाँ राहत वितरण गरिएको निकुञ्जले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने नागरिकलाई वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिबापत सरकारले प्रत्येक वर्ष राहत उपलब्ध गराउँदै आएको छ।