रुकुमपूर्वमा ५ म्याग्निच्युडको भूकम्प, पश्चिम नेपाल फेरि हल्लियो

1.3k Shares

काठमाडौं । रुकुमपूर्व केन्द्रबिन्दु भएर आइतबार अपराह्न ४ः३० बजे ५.० म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का रुकुमपूर्वसहित रुकुमपश्चिम, रोल्पा, बागलुङ, जाजरकोट र आसपासका जिल्लामा समेत महसुस गरिएको छ । हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

रुकुम क्षेत्र पश्चिम नेपालका सक्रिय भूकम्पीय क्षेत्रमध्ये एक मानिन्छ। विगत दुई दशकमा मात्रै यस क्षेत्रमा ४ म्याग्निच्युड वा सोभन्दा माथिका दर्जनौं भूकम्प अभिलेख भएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रको अभिलेखअनुसार २०८० कात्तिक ३ (१९ नोभेम्बर २०२३) मा रुकुमपूर्व केन्द्रबिन्दु भएर ४.३ र त्यसको केही घण्टापछि ४.२ म्याग्निच्युडका दुई भूकम्प गएका थिए। त्यस्तै २०८० जेठ ६ (२० मे २०२३) मा पनि ४.१ म्याग्निच्युडको भूकम्प रुकुमपूर्वमै मापन गरिएको थियो ।

रुकुम र आसपासको क्षेत्रमा यसअघि पनि मध्यम खालका शक्तिशाली भूकम्प भएका छन् । भूकम्पविद्हरूका अनुसार रुकुम, जाजरकोट, रोल्पा र बागलुङ जोडिएको क्षेत्र सक्रिय भूकम्पीय पट्टीमा पर्ने भएकाले यहाँ बेला–बेला मध्यम क्षमताका भूकम्प दोहोरिने गरेका छन् ।

त्यसैले ठूला धक्कापछि आउने परकम्पको सम्भावनालाई ध्यानमा राख्दै सतर्क रहन र क्षतिको सूचना भए सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार