कांग्रेसको औपचारिक निर्णयपछि मात्रै नेकपासँग सत्ता सहकार्यको निर्णायक वार्ता

1.5k Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपाबीच नयाँ सत्ता समीकरणबारे अनौपचारिक संवाद जारी रहे पनि दुवै दलबीच अझै कुनै ठोस सहमति भएको छैन। नेकपाले कांग्रेस–एमाले गठबन्धन औपचारिक रूपमा अन्त्य भएको घोषणा भएपछि मात्रै सत्ता सहकार्यबारे निर्णायक वार्ता अघि बढाउने स्पष्ट संकेत दिएको छ।

श्रीलङ्का भ्रमणबाट आइतबार स्वदेश फर्किएका नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग संवाद जारी रहेको स्वीकार गर्दै गठबन्धन परिवर्तनको विषयमा कांग्रेसले औपचारिक निर्णय नगरेसम्म आफूहरूको तर्फबाट कुनै निष्कर्षमा नपुगिने सन्देश दिएका छन्।

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार कांग्रेससँग सामान्य राजनीतिक संवाद भइरहे पनि गठबन्धन परिवर्तनबारे कांग्रेसले औपचारिक निर्णय नगरेसम्म नयाँ सत्ता समीकरणबारे छलफल अगाडि बढ्ने अवस्था छैन। उनका अनुसार नेकपा अहिले गठबन्धन भत्काउने पक्षमा नरहेको र सकेसम्म वर्तमान सहकार्य कायम रहोस् भन्ने धारणा राखिरहेको छ।

यता कांग्रेस महामन्त्री गुरु घिमिरेले पनि एमालेसँगको सहकार्यलाई निरन्तरता नदिने निष्कर्षमा पार्टी पुगेको दाबी गर्दै अन्तिम निर्णय भने पार्टी बैठकबाट हुने बताएका छन्। उनले नेकपासँग सकारात्मक संवाद भइरहेको स्वीकार गरे पनि कुनै औपचारिक सहमति नभएको स्पष्ट पारे।

यसैबीच प्रचण्ड र माधव नेपालबीच आइतबार हुने भनिएको भेट माधव नेपाल अस्वस्थ भएपछि स्थगित भएको छ। दुवै नेताबीच सोमबार भेटवार्ता हुने अपेक्षा गरिएको छ। उक्त भेटपछि मात्रै कांग्रेस सभापति गगनकुमार थापासँग निर्णायक छलफल हुने कार्यतालिका रहेको स्रोतहरूले बताएका छन्।

madhav-prachand-768x385.jpg

नेकपाभित्र पनि सत्ता सहकार्यको विषयमा एकमत देखिएको छैन। केही नेताहरूले प्रदेश सरकारलाई स्थानीय राजनीतिक आवश्यकताअनुसार निर्णय गर्न स्वतन्त्र छाड्नुपर्ने धारणा राखेका छन् भने अर्को पक्षले पार्टी आफ्नै राजनीतिक बलमा अघि बढ्नुपर्ने मत व्यक्त गरिरहेको छ।

नेकपा नेता राजेन्द्र पाण्डेले पहिलो प्राथमिकता प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्ने भए पनि प्रदेश सरकारहरू अस्थिर हुने अवस्था आए मात्रै कांग्रेससँग सहकार्यबारे विचार गर्न सकिने बताएका छन्। प्रचण्डनिकट सांसद रमेश मल्लले पनि गठबन्धन फुटाउने पक्षमा पार्टी नरहेको तर आवश्यक परे प्रदेशमा अभिभावकीय भूमिका निर्वाह गर्न सकिने धारणा व्यक्त गरेका छन्।

यता झलनाथ खनाल भने वाम एकता पुनःस्थापनाको पक्षमा देखिए पनि तत्काल वाम गठबन्धन पुनर्गठन हुने सम्भावना नरहेको नेकपाका नेताहरूको भनाइ छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच सम्बन्धमा केही सुधार आए पनि त्यसले नयाँ राजनीतिक समीकरण निर्माण गर्ने अवस्था नबनेको उनीहरूको दाबी छ।

सबै प्रदेश सरकार अहिले केन्द्रको निर्णयको प्रतीक्षामा छन्। कोशी, कर्णाली र सुदूरपश्चिमलगायत प्रदेशमा नयाँ समीकरणबारे विभिन्न दलबीच छलफल भए पनि केन्द्रबाट स्पष्ट निर्देशन नआएसम्म कुनै निर्णय नहुने नेताहरूले बताएका छन्।

कांग्रेस स्रोतका अनुसार सोमबार बस्ने पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनबारे औपचारिक निर्णय लिन सक्छ। त्यसपछि मात्रै नेकपासँग सत्ता सहकार्यको मोडालिटी, प्रदेश सरकारको नेतृत्व बाँडफाँट र साना दलहरूको सहभागिताबारे विस्तृत छलफल अघि बढ्ने सम्भावना रहेको बताइएको छ।

 
 
सम्बन्धित समाचार