काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मिटरब्याज पीडितलाई पुनः धोका दिएको आरोप लगाएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारले अर्थतन्त्र सुधार्नेभन्दा पनि समस्यालाई ढाकछोप गर्ने काम गरिरहेको दाबी गरे।
ओलीले मूल्यवृद्धिले सर्वसाधारण, विशेषगरी गरिब वर्गलाई थप मारमा पारेको उल्लेख गर्दै अहिलेको आर्थिक नीतिले जनतालाई राहत दिन नसकेको टिप्पणी गरे। उनले सेयर बजारको अवस्थालाई समेत उदाहरण दिँदै सरकारका गतिविधिले आम नागरिकलाई झन् समस्यामा पारेको आरोप लगाए।
उनले मिटरब्याज पीडितले अहिले नभए पनि पछि सरकारले आफूहरूलाई फेरि धोका दिएको महसुस गर्ने दाबी गरे। साथै, रास्वपाको नेतृत्वमा सरकार बनेपछि विदेशिने नेपाली युवाको संख्या अघिल्लो वर्षभन्दा बढेको दाबी गर्दै सरकारले यसबारे फरक–फरक व्याख्या गरिरहेको टिप्पणी गरे।
ओलीले एमाले सांसदहरूलाई संसद् र सार्वजनिक मञ्चमा देश, लोकतन्त्र र जनताका पक्षमा तथ्य र तर्कका आधारमा प्रभावकारी ढंगले आवाज उठाउन निर्देशनसमेत दिए।
पोखरेलले भने– रास्वपाको अवसानको जोखिम बढ्दो
उक्त कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले पनि रास्वपामाथि कटाक्ष गर्दै पपुलिस्ट राजनीतिले दीर्घकालीन स्थायित्व दिन नसक्ने बताए। उनले रास्वपा असफल हुँदैमा जनमत स्वतः पुराना दलतर्फ फर्किने ग्यारेन्टी नभएको भन्दै एमालेले जनविश्वास जित्न अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याए।
पोखरेलले पपुलिज्म, अराजकतावाद र अवसरवादको मिश्रणका रूपमा उदाएको शक्ति लामो समयसम्म टिक्न नसक्ने दाबी गर्दै रास्वपाको तीव्र उदयसँगै त्यसको छिटो अवसान हुने जोखिम पनि उत्तिकै रहेको टिप्पणी गरे।