धुलिखेल रिसोर्टमा भेटपछि रवि र स्वर्णिम काठमाडौं फर्किए

1.2k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थित रिसोर्टमा भएको भेटघाटपछि काठमाडौं फर्किएका छन्।

सुरक्षा स्रोतका अनुसार पत्नी निकितासहित रिसोर्ट पुगेका सभापति लामिछाने तथा छुट्टै पुगेका अर्थमन्त्री वाग्ले केहीबेरअघि त्यहाँबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन्।

शनिबार दिउँसो करिब ३ बजे अर्थमन्त्री वाग्ले रिसोर्ट पुगेका थिए। त्यसको करिब २० मिनेटपछि सभापति लामिछाने पत्नी निकितासहित रिसोर्ट पुगेका थिए। उनीहरू अर्थमन्त्री वाग्लेको लगानी रहेको निजी भिल्लामा बसेको जनाइएको छ।

पछिल्लो समय सरकार र पार्टीबीचको समन्वय तथा आन्तरिक राजनीतिक विषयलाई लिएर विभिन्न चर्चा भइरहेका बेला शीर्ष दुई नेताबीच भएको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

यद्यपि भेटघाटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे रास्वपा वा सम्बन्धित नेताहरूले औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्। त्यसैले भेटको उद्देश्यबारे विभिन्न राजनीतिक अड्कलबाजी भइरहे पनि त्यसको आधिकारिक पुष्टि भने भएको छैन।

सम्बन्धित समाचार