काठमाडौं, साउन ३ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजगद्दीमा फर्काउन माग गर्दै काठमाडौंमा हस्ताक्षर अभियान सुरु गरिएको छ।
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको पक्षमा आन्दोलन गर्दै आएको शाही युवा शक्ति नेपालले आइतबारदेखि अभियान थालेको हो। अभियानका लागि काठमाडौंको धरहरा अगाडि हस्ताक्षर संकलन केन्द्र स्थापना गरिएको छ।
हस्ताक्षर संकलनस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीरसहित ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान, २०८३ मा सहभागी बनौँ’ भन्ने सन्देश लेखिएको ब्यानर राखिएको छ। त्यस्तै, ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ लेखिएको फ्लेक्स बोर्डसमेत प्रदर्शन गरिएको छ।
अभियान सञ्चालन गर्ने पक्षले राजसंस्था पुनर्स्थापना र नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न जनसमर्थन जुटाउने उद्देश्यले हस्ताक्षर संकलन सुरु गरिएको जनाएको छ।
नेपालमा २०६५ सालमा संविधानसभाको पहिलो बैठकले राजसंस्थाको अन्त्य गर्दै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। त्यसयता राजसंस्था पुनर्स्थापनाको माग गर्दै विभिन्न समूहहरूले समय–समयमा प्रदर्शन तथा अभियान सञ्चालन गर्दै आएका छन्।