पाँचदिने श्रीलंका भ्रमण टुंग्याएर काठमाडौं फर्किए प्रचण्ड

1.6k Shares

काठमाडौं, साउन ३ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।

प्रचण्ड जुलाई १५ मा श्रीलंका प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै उद्घाटन र समापन दुवै सत्रलाई सम्बोधन गरेका थिए।

उद्घाटन सत्रमा उनले विश्व शक्ति सन्तुलनमा आएको परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनका अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक दिशाबारे धारणा राखेका थिए। समापन सत्रमा उनले एसियाली जनताबीच शान्ति, सामाजिक न्याय, एकता र साझा संघर्षलाई सुदृढ बनाउन अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

भ्रमणकै क्रममा प्रचण्डले ग्लोबल साउथ एकेडेमिक फोरमलाई विशेष अन्तर्वार्ता दिएका थिए। अन्तर्वार्तामा उनले नेपालको शान्ति प्रक्रिया, जनयुद्धदेखि लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक यात्रा, विश्व वामपन्थी आन्दोलनका चुनौती तथा नेपालको समाजवादी रूपान्तरणको कार्यदिशाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए।

श्रीलंका बसाइका क्रममा उनले त्यहाँका प्रमुख वामपन्थी दलका नेताहरूसँग उच्चस्तरीय भेटवार्ता पनि गरेका थिए। श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग भएको छलफलमा दुई देशका कम्युनिस्ट आन्दोलनका अनुभव, लोकतान्त्रिक अभ्यास, आर्थिक रूपान्तरण र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा विचार आदानप्रदान भएको थियो।

त्यसैगरी, सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव तिल्भिन सिल्भा र पार्टी नेतृत्वसँग भएको भेटमा दक्षिण एसियाली वामपन्थी सहकार्य, सुशासन, आर्थिक विकास तथा जनमुखी नीतिका अनुभवबारे विस्तृत छलफल भएको पार्टीले जनाएको छ। दुवै पक्षले नेपाल र श्रीलंकाका प्रगतिशील शक्तिबीच राजनीतिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा सहमति जनाएका थिए।

भ्रमणका क्रममा प्रचण्डले विभिन्न देशका राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील बौद्धिक व्यक्तित्वसँग पनि भेटघाट गरेका थिए। पार्टीका अनुसार यस भ्रमणले नेपालको कम्युनिस्ट आन्दोलनका अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुका साथै दक्षिण एसियाली वामपन्थी शक्तिबीच राजनीतिक सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

सम्बन्धित समाचार