भिडियो विवादपछि ज्ञानेन्द्र शाहीको व्यंग्यात्मक प्रतिक्रिया : ‘सत्य त लुक्दो रहेनछ’

1.2k Shares

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आफूले सार्वजनिक गरेको पछिल्लो भिडियोमाथि सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र आलोचनाप्रति व्यंग्यात्मक शैलीमा पुनः प्रतिक्रिया दिएका छन्। आइतबार फेसबुकमार्फत उनले आफ्नो अभिव्यक्तिबारे टिप्पणी गर्दै आलोचकलाई समेत लक्षित गरेका छन्।

शाहीले आफ्नो स्टाटसमा ‘जापानको रक्सी पनि कडा रहेछ’ भन्दै व्यंग्यात्मक शैलीमा वर्षौंदेखि मनमा दबाएर राखेका केही कुरा अनायासै मुखबाट बाहिरिएको उल्लेख गरेका छन्। उनले ‘जति लुकाउन खोजे पनि सत्य त लुक्दो रहेनछ’ भन्दै भिडियोमा व्यक्त गरेका भनाइप्रति संकेत गरेका छन्।

त्यसपछि उनले सहकारी ठगी प्रकरण, विभिन्न समूह र केही व्यक्तिलाई लक्षित गर्दै आफूले भिडियोमा प्रयोग गरेका अभिव्यक्तिलाई पुनः दोहोर्‍याएका छन्। साथै, ‘खाँदै नखाएको रक्सी पनि लागेछ’ भन्ने टिप्पणी गर्दै आफ्नो भनाइलाई व्यंग्यात्मक शैलीमै प्रस्तुत गरेका छन्।

सामाजिक सञ्जालमा भइरहेको आलोचना र ‘रोस्ट’लाई पनि उनले व्यंग्यको विषय बनाएका छन्। ‘विश्वभरिका बेरोजगार केटाहरू हो, आज तिमीहरूको डलर तन्नै झर्छ। जति रोस्ट गर्न मन छ गर, जति स्टाटस लेख्न मन छ लेख। आज त कन्टेन्टको कमी छैन, पैसा पनि राम्रै कमाइ हुन्छ। नेपाल जाने भाडा पनि मलाई जुटाइदेऊ है,’ भन्ने टिप्पणी गर्दै उनले आलोचकलाई लक्षित गरेका हुन्।

शाहीको पछिल्लो स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समर्थक र आलोचकबीच पुनः बहस सुरु भएको छ। केहीले उनको अभिव्यक्तिलाई व्यंग्यका रूपमा व्याख्या गरेका छन् भने कतिपयले सार्वजनिक पदमा रहेका व्यक्तिको अभिव्यक्ति थप जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

सम्बन्धित समाचार