एमालेसँगको गठबन्धन नतोड्न कांग्रेसका कोशी नेताको आग्रह
1.5k
Shares
विराटनगर । नेपाली कांग्रेसका कोशी प्रदेश समिति र संसदीय दलका नेताहरूले प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य तत्काल नतोड्न पार्टीको केन्द्रीय नेतृत्वलाई आग्रह गरेका छन्। अन्य प्रदेशको राजनीतिक समीकरणका आधारमा कोशीमा पनि गठबन्धन तोड्दा थप अस्थिरता निम्तिन सक्ने भन्दै उनीहरूले पुनर्विचार गर्न नेतृत्वलाई दबाब दिएका हुन्।
कोशी प्रदेशका नेताहरूले प्रदेशको राजनीतिक अवस्था अन्य प्रदेशभन्दा फरक रहेकाले केन्द्रले हतारमा निर्णय नगर्नुपर्ने धारणा राखेका छन्। उनीहरूका अनुसार प्रदेशमा अहिलेको सत्ता सहकार्य कायम राख्दै राजनीतिक स्थिरतालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ।
कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले केन्द्रको निर्देशन पालना गर्न आफूहरू तयार रहे पनि कोशीको विशेष राजनीतिक अवस्थालाई ध्यानमा राख्नुपर्ने बताए। उनका अनुसार प्रदेशमा एमालेसँगको सहकार्य कायम राखेर भविष्यमा कांग्रेसले नै सरकारको नेतृत्व गर्ने सम्भावना पनि रहेकाले गठबन्धन तत्काल नतोड्न नेतृत्वसँग निरन्तर संवाद भइरहेको छ।
प्रदेश सरकारमा सहभागी कांग्रेसका नेता तथा मन्त्री भीम पराजुलीले बारम्बार सरकार परिवर्तन हुँदा प्रदेशको स्थायित्वमा असर पर्ने र संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न सक्ने चेतावनी दिएका छन्। कोशी प्रदेश सरकार संविधानको धारा १६८(५) अनुसार गठन भएकाले सरकार विघटन भए मध्यावधि निर्वाचनको अवस्था सिर्जना हुन सक्ने उनको तर्क छ।
यसअघि कांग्रेस केन्द्रले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने अनौपचारिक निर्णय गरेपछि कोशीसहित विभिन्न प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने चर्चा सुरु भएको थियो। तर कर्णाली र सुदूरपश्चिममा गठबन्धन टुटिसके पनि कोशीमा भने कांग्रेसका प्रदेश नेताहरूले सहकार्यलाई निरन्तरता दिनुपर्ने पक्षमा लबिङ तीव्र बनाएका छन्।