मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै बस ठोक्किँदा पुनः अवरुद्ध

1.5k Shares

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा आइतबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा सडक पुनः अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार लगातारको वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो।

आइतबार बिहान उक्त प्रतिबन्ध हटाइएपछि सवारीसाधन सञ्चालन सुरु भएको केही समयमै जलबिरे क्षेत्रमा दुई बस आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।

दुर्घटनामा मानवीय क्षतिबारे तत्काल कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन। प्रहरीले दुर्घटनाग्रस्त सवारी हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ।

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो र सडक अवरोधको जोखिम कायम रहेकाले अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न तथा यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र गन्तव्यतर्फ लाग्न सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेका छन्।

 
 
सम्बन्धित समाचार