रास्वपाले सार्वजनिक गर्यो नयाँ वरीयता सूची, रविपछि स्वर्णिम र सोविता अग्रस्थानमा
1.8k
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आधिकारिक नामावली र वरीयता सार्वजनिक गरेको छ। पार्टीले आफ्नो वेबसाइटमार्फत नेतृत्वको वरीयता सार्वजनिक गर्दै केही पदाधिकारी र केन्द्रीय सदस्यको मनोनयन भने अझै बाँकी रहेको जनाएको छ।
सार्वजनिक सूचीअनुसार सभापति रवि लामिछाने पहिलो वरीयतामा छन्। उनीपछि उपसभापति स्वर्णिम वाग्ले दोस्रो, अर्की उपसभापति सोविता गौतम तेस्रो तथा महामन्त्री विपिन आचार्य चौथो वरीयतामा रहेका छन्।
सहमहामन्त्रीमध्ये असिम शाह पहिलो, हरि ढकाल दोस्रो र निशा डाँगी तेस्रो स्थानमा छन्। समग्र वरीयतामा शाह पाँचौँ, ढकाल छैटौँ र डाँगी सातौँ नम्बरमा परेका छन्।
पार्टीले वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता तथा केही केन्द्रीय सदस्य अझै मनोनयन गर्न बाँकी रहेको जनाएको छ। मनोनयन हुने पदाधिकारीहरूको वरीयता निर्वाचित पदाधिकारीपछि रहने व्यवस्था गरिएको छ। यसअघि वरिष्ठ नेता उपसभापतिभन्दा माथिल्लो वरीयतामा रहने प्रचलन थियो।
सार्वजनिक वरीयताअनुसार पदाधिकारीपछि शिशिर खनाल पहिलो स्थानमा छन्। त्यसपछि क्रमशः सागर ढकाल, तोसिमा कार्की, रञ्जु दर्शना, मनिष झा तथा निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी रहेका छन्। बुर्लाकोटी समग्र वरीयतामा १३औँ स्थानमा परेका छन्।
यस्तै, समीक्षा बास्कोटा २७औँ तथा निवर्तमान कोषाध्यक्ष लिमा अधिकारी ३३औँ वरीयतामा रहेकी छन्।
रास्वपामा अझै ५१ जना केन्द्रीय सदस्य र केही पदाधिकारी मनोनयन गर्न बाँकी रहेको छ। पार्टीभित्र ती मनोनयन हुने पदहरू प्रधानमन्त्री तथा रास्वपाका नेता वालेन्द्र शाह (बालेन) पक्षको कोटाअन्तर्गत रहने बताइएको छ।