सांसद र मेयरविरुद्ध पक्राउ पुर्जीपछि कृष्णनगर बन्द, बजार ठप्प

1.2k Shares

कपिलवस्तु । कपिलवस्तुको सीमावर्ती व्यापारिक सहर कृष्णनगर शुक्रबार पूर्ण रूपमा बन्द भएको छ । सांसद र नगरप्रमुखविरुद्ध पक्राउ पुर्जी जारी गरिएको विरोधमा स्थानीय व्यापारी तथा व्यवसायीले बजार बन्द गराएका हुन् ।

व्यापारीहरूले बजार, पसल तथा व्यवसाय बन्द गरी विरोध जनाएका छन्। बन्दका कारण दैनिक उपभोग्य वस्तुको किनबेच, साना व्यवसाय तथा सीमावर्ती व्यापार प्रभावित भएको छ । बजार क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने स्थिति शान्तिपूर्ण रहेको जनाइएको छ ।

व्यवसायीहरूको भनाइमा जनप्रतिनिधिविरुद्ध जारी गरिएको पक्राउ पुर्जीप्रति असहमति जनाउँदै बजार बन्द गरिएको हो । उनीहरूले घटनाको निष्पक्ष छानबिन तथा कानुनी प्रक्रिया पारदर्शी ढंगले अघि बढाउन माग गरेका छन् ।

कृष्णनगर नेपाल–भारत सीमासँग जोडिएको प्रमुख व्यापारिक नाका भएकाले बजार बन्दको प्रभाव स्थानीय व्यापार, आवतजावत र आर्थिक गतिविधिमा समेत परेको छ। सम्बन्धित निकायले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार