काठमाडौं । नेपाली कांग्रेसभित्र कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा आन्तरिक छलफल सुरु भएको छ। सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले यसअघि नै राजीनामा दिएपछि अब सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनुपर्ने विषयमा पार्टीभित्र बहस तीव्र बनेको हो।
पार्टीका प्रदेश तथा केन्द्रीय तहका नेताहरूबीच यस विषयमा निरन्तर छलफल भइरहेको स्रोतले जनाएको छ। कांग्रेसले सरकारमा नरहने निर्णय गरिसकेकाले समर्थन कायम राख्ने वा औपचारिक रूपमा फिर्ता लिने भन्ने विषयमा केन्द्रीय नेतृत्वबाट अन्तिम निर्णय हुने बताइएको छ।
यदि कांग्रेसले समर्थन फिर्ता लिएमा कर्णाली प्रदेश सरकारको राजनीतिक समीकरणमा प्रभाव पर्ने र सरकारको बहुमतको अवस्था पुनः परीक्षण हुन सक्ने आकलन गरिएको छ। यद्यपि, यस विषयमा कांग्रेसले औपचारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन।