भारतीय ४ विश्वविद्यालयका ११४ विद्यार्थीको समकक्षता त्रिविद्वारा रद्द
2.5k
Shares
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले भारतका विभिन्न विश्वविद्यालयबाट डिग्री हासिल गरेका ११४ विद्यार्थीलाई यसअघि प्रदान गरिएको समकक्षता (इक्विभालेन्स) रद्द गरेको छ।
केन्द्रले बुधबार सूचना जारी गर्दै समकक्षता रद्द गर्ने प्रक्रियाअनुसार ३५ दिनको सार्वजनिक सूचना जारी गरी सम्बन्धित विद्यार्थीलाई आवश्यक प्रमाण पेस गर्न अवसर दिएको जनाएको छ। तोकिएको समयभित्र पेस गरिएका कागजातबाट समकक्षता कायम राख्न पर्याप्त आधार नदेखिएपछि त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम, २०८२ को विनियम २१ बमोजिम समकक्षता रद्द गरिएको हो।
रद्द गरिएका समकक्षतामध्ये भारतको मेघालयस्थित सीएमजे विश्वविद्यालय (CMJ University) बाट डिग्री लिएका १३ जना, मणिपुरस्थित सङ्गाई इन्टरनेसनल युनिभर्सिटी (Sangai International University) बाट डिग्री लिएका ९८ जना, झारखण्डस्थित प्रज्ञान इन्टरनेसनल विश्वविद्यालय (Pragyan International University) बाट डिग्री लिएका एक जना तथा टेक्नो ग्लोबल विश्वविद्यालय (Techno Global University) बाट डिग्री लिएका दुई जना विद्यार्थी रहेका छन्।
भारतको विश्वविद्यालय अनुदान आयोग (UGC) लगायतका सरकारी निकायले ती विश्वविद्यालयका शैक्षिक योग्यतामाथि प्रश्न उठाएपछि त्रिविले यसअघि नै समकक्षता सम्बन्धी छानबिन समिति गठन गरेको थियो। अनुसन्धानका क्रममा केही विद्यार्थी सम्पर्कमा आए पनि प्राप्त प्रमाणका आधारमा समकक्षता कायम राख्न नसकिने निष्कर्षसहित अन्ततः ११४ जनाको समकक्षता रद्द गरिएको त्रिविले जनाएको छ।