इलामका सडक बेहाल, बिरामी र सुत्केरी अस्पताल पुर्याउनै कठिन : सांसद निष्कल राई
1.4k
Shares
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले इलामको मेची राजमार्गसहित विभिन्न वैकल्पिक सडकहरूको दयनीय अवस्थाले जनजीवन प्रभावित भएको भन्दै तत्काल सुधारका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले सडक पूर्वाधारको अभावका कारण इलामवासीले दैनिक सास्ती खेप्नुपरेको बताउनुभयो । एक समय ‘हरित नगरी’का रूपमा परिचित इलाम अहिले सडकको दुरावस्थाका कारण ‘हिलोमय इलाम’मा परिणत भएको उहाँको टिप्पणी थियो ।
उहाँका अनुसार मेची राजमार्गको अवस्था अत्यन्त जर्जर बनेकाले बिरामी तथा सुत्केरी महिलालाई उपचारका लागि झापास्थित अस्पतालसम्म पुर्याउन समेत कठिन भएको छ ।
राजदुवाली–सिमल गोलाई सडकखण्डको अवस्था पनि उस्तै दयनीय रहेको उल्लेख गर्दै माईजोगमाई र पुवा खोलामा बेलीब्रिज निर्माणको माग पटक–पटक उठाउँदा पनि सरकारले बेवास्ता गरेको उहाँले गुनासो गर्नुभयो ।
सांसद राईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले इलाम पुगेर सडकहरूको स्थलगत निरीक्षण गरे पनि सुधारका लागि कुनै ठोस पहल नभएको आरोप लगाउनुभयो ।
गत वर्षको प्राकृतिक विपत्तिपछि इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरिए पनि विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको र चालु आर्थिक वर्षमा समेत आवश्यक बजेट नपरेको उहाँको भनाइ थियो ।
सदनमा बोल्दै उहाँले इलामका नागरिकले पूर्वाधार विकासमा निरन्तर उपेक्षा भोग्नुपरेको उल्लेख गर्दै सरकारले समान दृष्टिकोणबाट विकासका योजना अघि बढाउनुपर्ने माग गर्नुभयो।
साथै, मनसुनका कारण इलाममा बाढी–पहिरोको जोखिम उच्च रहेको उल्लेख गर्दै सम्भावित विपद्को सामना गर्न आवश्यक पूर्वतयारी र पूर्वाधार व्यवस्थापनमा सरकारले तत्काल ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।