सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ । बुधबार मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट सहभागी सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी तथा जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले पदबाट राजीनामा दिएका थिए ।
मुख्यमन्त्री कँडेलले चारै मन्त्रीको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मन्त्रिपरिषद्को पुनर्गठनसँगै रिक्त भएका चारवटै मन्त्रालयको जिम्मेवारी हालका लागि मुख्यमन्त्री कँडेलले आफैंले सम्हाल्ने निर्णय गरेका छन् ।
कांग्रेसका मन्त्रीहरूको बहिर्गमनसँगै कर्णाली प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ राजनीतिक विकास भएको छ। अब ती मन्त्रालयमा नयाँ मन्त्री नियुक्त हुने वा सत्ता समीकरणमा थप परिवर्तन हुने विषयलाई चासोका साथ हेरिएको छ ।