सरकार विषयान्तर गर्न माहिर, सस्तो स्टन्टको पछि नलाग्नुस् : सांसद गीता गुरुङ

925 Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले वर्तमान सरकार गम्भीर विषयबाट जनताको ध्यान मोड्न विषयान्तर गर्ने शैलीमा अघि बढिरहेको आरोप लगाएकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले सरकारमाथि प्रश्न उठ्नेबित्तिकै नयाँ विषय अघि सारेर जनताको ध्यान अन्तैतिर मोड्ने प्रयास हुने गरेको बताइन्। सरकारको यही कार्यशैलीका कारण नागरिकमा निराशा बढ्दै गएको उनको भनाइ थियो।

‘मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चलाइयो। तत्कालीन सचिव कृष्णहरि पुष्कर पक्राउ पर्दा प्रधानमन्त्री र मन्त्रीहरूको स्टाटस त्यसैतर्फ केन्द्रित भयो,’ उनले भनिन्, ‘कीर्तिपुरमा सुकुम्बासी राखिएको स्थान डुबानमा पर्दा मानिसहरू आपतमा थिए। त्रिपुरेश्वर, बुद्धनगर र सर्लाहीमा आत्मदाहका घटना भइरहेका बेला अहिले मिडियाको गेट र प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापाको निवास अगाडि गाडी राखिएको विषयलाई अघि सारिएको छ।’

सांसद गुरुङले सरकारलाई गम्भीर राष्ट्रिय विषयमा जिम्मेवार बन्न आग्रह गर्दै जनताको ध्यान मोड्ने ‘सस्तो स्टन्ट’ को पछि नलाग्न चेतावनी दिइन्।

‘गम्भीर विषय उठ्दा विषयान्तर गर्न ल्याइने यस्ता सरकारी फन्डा अब नयाँ रहेनन्। कृपया यस्ता सस्ता स्टन्टको पछि नकुद्नुस्,’ उनले भनिन्।

सम्बन्धित समाचार