सुदूरपश्चिममा एमाले मन्त्री बर्खास्त

1.8k Shares

सुदूरपश्चिम प्रदेश सरकारमा बजेटलाई लिएर सत्ता साझेदारबीच देखिएको विवादले नयाँ मोड लिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले) का तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेका छन्।

बर्खास्त हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की तथा भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउद रहेका छन्।

कांग्रेस नेतृत्वको सरकारमा एमालेको समेत सहभागिता रहेको थियो। प्रदेश सरकारले गत १ असारमा आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरेपछि सत्ता साझेदार दलभित्र असन्तुष्टि बढेको थियो।

एमालेका छ जना प्रदेशसभा सदस्यले आफ्नै सरकारद्वारा प्रस्तुत बजेटप्रति असहमति जनाउँदै छ मन्त्रालयको बजेटमाथि खर्च कटौती प्रस्ताव दर्ता गरेका थिए। आफ्नै सरकारको बजेटविरुद्ध एमाले सांसदहरूले कदम चालेपछि गठबन्धनमा दरार देखिएको थियो।

बजेट विवादकै बीच मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई सरकारबाट हटाउने निर्णय गरेका हुन्। यससँगै सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण र सरकारको आगामी यात्राबारे राजनीतिक चासो बढेको छ।

सम्बन्धित समाचार