संसद तताउने शाही : सरकारसँग प्रमाण र जवाफ दुवैको माग
1.4k
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति, सीमा सुरक्षा, सुशासन र सरकारको कार्यशैलीलाई लिएर कडा टिप्पणी गरेका छन्। उनले सरकारसँग विभिन्न विषयमा जवाफ माग्दै संसदमा आफ्नो धारणा राखेका हुन्।
शाहीले प्रधानमन्त्रीले संसदमा नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसको तथ्य र प्रमाण सार्वजनिक गर्न माग गरे। यदि त्यस्तो प्रमाण प्रस्तुत गर्न नसकिने हो भने उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने उनको माग थियो। उनले सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले जिम्मेवार ढंगले बोल्नुपर्ने बताए।
उनले नेपालको एक इन्च भूमि पनि कसैलाई नछोड्ने राष्ट्रिय अडान कायम राख्नुपर्ने उल्लेख गर्दै सीमासम्बन्धी विषयमा सरकार स्पष्ट हुनुपर्ने धारणा राखे। सरकारका अभिव्यक्तिले अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय स्वाभिमानमा असर पार्न सक्ने भएकाले यस्ता विषयमा सावधानी अपनाउनुपर्ने उनले बताए।
शाहीले सरकार सुशासनको नारामै सीमित भएको आरोप लगाउँदै भ्रष्टाचार नियन्त्रण, कर्मचारीतन्त्र सुधार र जनताले अनुभूति गर्ने सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको टिप्पणी गरे। जनताले परिवर्तनको अपेक्षा गरे पनि सरकारको कामकारबाहीले निराश बनाएको उनको भनाइ थियो।
उनले संसद सरकारको प्रशंसा गर्ने थलो नभई सरकारलाई जवाफदेही बनाउने संस्था भएको उल्लेख गर्दै राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। संसदमा उठाइएका प्रश्नको सरकारले तथ्यका आधारमा उत्तर दिनुपर्ने उनको माग थियो।