सईको बयानपछि सशस्त्रमा हलचल, २ डीएसपीसहित ८ सुरक्षाकर्मी छानबिनमा
1.2k
Shares
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) भित्र तस्करीसँग सम्बन्धित आरोपबारे भइरहेको अनुसन्धानले नयाँ मोड लिएको छ। एक सशस्त्र प्रहरी सहायक निरीक्षक (सई) सहित तल्लो तहका सुरक्षाकर्मीको बयानपछि दुई जना डीएसपीसहित आठ जना सुरक्षाकर्मीलाई सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक तानेर छानबिन सुरु गरिएको छ।
छानबिनका लागि बोलाइएकामध्ये यसअघि झापाको काँकडभिट्टामा कार्यरत भई हाल इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती, सीमा सुरक्षा गुल्म हरिपुर (सुनसरी) का डीएसपी शमशेर कार्की तथा बोर्डर आउट पोस्ट (बीओपी) लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्द रहेका छन्। उनीहरूसँगै केही हवल्दार, एक सई र एक जवानलाई पनि अनुसन्धानका लागि मुख्यालयमा झिकिएको छ।
अनुसन्धानका क्रममा सई गणेश खड्का र अन्य सुरक्षाकर्मीले तस्करीबाट संकलन गरिएको रकम मासिक रूपमा माथिल्लो तहका अधिकारीसम्म पुग्ने गरेको बयान दिएको स्रोतको दाबी छ। उनीहरूको बयानपछि डीएसपी र इन्स्पेक्टर तहका अधिकारीमाथि पनि अनुसन्धानको दायरा विस्तार गरिएको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले केही सुरक्षाकर्मीलाई अनुसन्धानका लागि मुख्यालय बोलाइएको पुष्टि गरे। तर, अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनीहरूको नाम र विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने बताए।
काँकडभिट्टा–सुनसरी सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा सुरक्षाकर्मीको संलग्नताबारे लगातार प्रश्न उठिरहेका बेला सशस्त्र प्रहरीको यो आन्तरिक अनुसन्धानलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा सम्बन्धित अधिकारीमाथि थप कारबाही हुने वा नहुने भन्ने विषय भने छानबिनपछि मात्रै टुंगो लाग्नेछ।