बन्द हुने अवस्थामा पुगेको विद्यालय बन्यो १४० विद्यार्थी र ४७ आश्रित बालबालिकाको भरोसा

1.7k Shares

सल्यान । तीन वर्षअघि विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेको सल्यानको सारदा नगरपालिका–५ तल्लो मार्केस्थित जनकल्याण प्राथमिक विद्यालय अहिले पुनर्जीवित मात्र भएको छैन, आश्रयविहीन बालबालिकाको सुरक्षित घरका रूपमा समेत स्थापित भएको छ।

एक समय पाँच कक्षामा जम्मा ६ विद्यार्थी र दुई शिक्षकमा सीमित रहेको विद्यालयमा अहिले १४० विद्यार्थी अध्ययनरत छन् भने ६ जना शिक्षक कार्यरत छन्। विद्यालयले गत वर्षदेखि कक्षा ६ सञ्चालनको अनुमति समेत प्राप्त गरेको छ ।

विद्यालयको परिवर्तनको नेतृत्व २१ साउन २०८० मा सरुवा भएर आएका सहायक प्रधानाध्यापक कृष्णबहादुर वलीले गरेका हुन् । विद्यालयको दयनीय अवस्था देखेपछि उनले नगरपालिकासँग भौतिक पूर्वाधार सुधार र शिक्षक व्यवस्थापनको प्रस्ताव राखे। त्यसपछि नगरपालिकाको पहल तथा विभिन्न दातृ निकायको सहयोगमा विद्यालय भवन मर्मत, खानेपानी, शौचालय, डेस्क–बेन्चलगायत आधारभूत सुविधा विस्तार गरियो ।

तर, पूर्वाधार सुधार मात्रै पर्याप्त नभएको ठहर गर्दै वलीले गाउँ–गाउँ पुगेर अभिभावकसँग प्रत्यक्ष संवाद थाले। सरकारी विद्यालयप्रतिको विश्वास फर्काउने अभियानस्वरूप घरदैलो कार्यक्रम सञ्चालन गरियो। यसको सकारात्मक प्रभाव पहिलो वर्षमै देखियो र ३६ जना नयाँ विद्यार्थी भर्ना भए । त्यसयता विद्यालयमा विद्यार्थी संख्या निरन्तर बढ्दै अहिले १४० पुगेको छ ।

विद्यालयका अनुसार २०७५ सालपछि विकास योजनाको कार्यान्वयनलाई लिएर विद्यालय व्यवस्थापन, अभिभावक र स्थानीय तहबीच विवाद उत्पन्न भएपछि अभिभावकले आफ्ना छोराछोरी निजी विद्यालयमा पठाउन थालेका थिए । त्यसकै असरले विद्यालय बन्द हुने अवस्थासम्म पुगेको थियो ।

यद्यपि अहिले जनकल्याण प्राथमिक विद्यालयको परिचय विद्यार्थी संख्या बढेको विद्यालयमा मात्रै सीमित छैन। विद्यालय अहिले ४७ जना आश्रयविहीन तथा जोखिममा रहेका बालबालिकाको आवासीय केन्द्र बनेको छ ।

सारदा नगरपालिकाको शिक्षा नीतिअनुसार विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्ने लक्ष्यसहित निर्माण गरिएको छात्रावास ७ जेठ २०८२ देखि सञ्चालनमा आएको हो। सुरुमा ३५ जना बालबालिकालाई राखिएको आवासमा अहिले ४७ जना बसोबास गर्दै अध्ययन गरिरहेका छन् ।

विद्यालयले बाबुआमा दुवै गुमाएका बालबालिकालाई पहिलो प्राथमिकता दिने गरेको छ। साथै एक अभिभावक गुमाएका, पारिवारिक विघटन वा आर्थिक अभावका कारण पढाइ छोड्ने जोखिममा रहेका बालबालिकालाई पनि निःशुल्क आवास र शिक्षाको व्यवस्था गरिएको छ ।

कक्षा ६ मा अध्ययनरत १३ वर्षीया आकृति खत्री पनि त्यहीँ बस्दै आएकी विद्यार्थी हुन् । बाल्यकालमै बाबुआमा गुमाएकी उनी अहिले विद्यालयको आवासमा सुरक्षित वातावरणमा अध्ययन गरिरहेकी छन् ।

सारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले आर्थिक अवस्था कमजोर भएका बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले आवासीय विद्यालय सञ्चालन गरिएको बताए । सीमित स्रोत–साधनका बाबजुद दातृ निकायको सहयोग जुटाएर कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ ।

आवासीय विद्यालयको दीर्घकालीन व्यवस्थापनका लागि विद्यालयले आत्मनिर्भर बन्ने प्रयास पनि थालेको छ। होस्टल इन्चार्ज कर्णबहादुर पुनका अनुसार चार रोपनी जग्गामा तरकारी खेती सुरु गरिएको छ । त्यसबाट प्राप्त आम्दानी छात्रावास सञ्चालनमा खर्च गरिनेछ भने बचत भएको रकमबाट कक्षा ६ देखि ८ सम्म अध्ययनरत आश्रित बालबालिकाको बैंक खातामा प्रत्येक वर्ष १० प्रतिशतका दरले रकम जम्मा गर्ने योजना बनाइएको छ ।

विद्यालयले यो योजनाबाट आश्रयविहीन तथा आर्थिक रूपमा कमजोर बालबालिकाको शिक्षालाई दीर्घकालीन रूपमा सहयोग पुग्ने विश्वास लिएको छ।

 
सम्बन्धित समाचार