विराटनगर । कोशी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकसहित केही संरचनामा डोजर चलाइएपछि रक्तसञ्चार सेवा प्रभावित हुने चिन्ता बढेको छ। अस्पताल प्रशासनले सरकारी स्वामित्वको जग्गा खाली गराउने अभियानअन्तर्गत सोमबार डोजर चलाएको हो।
अस्पताल प्रशासनले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित ब्लड बैंक, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर तथा देवकोटा पुस्तकालयसँग सम्बन्धित व्यापारिक सटर हटाउन थालेको छ। यससँगै लामो समयदेखि सञ्चालनमा रहेका सेवा संस्थाहरूको भविष्य अन्योलमा परेको छ।
नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार ब्लड बैंक २०४२ सालमा मन्त्रिपरिषद्को निर्णयपछि सरकारकै स्वीकृतिमा कोशी अस्पतालको जग्गामा स्थापना गरिएको थियो। अस्पताल नजिकै ब्लड बैंक सञ्चालन हुँदा बिरामीलाई तत्काल रगत उपलब्ध गराउन सहज भएको बताउँदै रेडक्रसले वैकल्पिक व्यवस्था नगरी संरचना हटाउनु मानवीय संवेदनाविपरीत भएको जनाएको छ।
यस्तै, २०१६ सालदेखि सञ्चालनमा रहेको नेपाल क्षयरोग निवारण संस्था पनि विस्थापनको जोखिममा परेको छ। संस्थाका अनुसार हाल पनि बिरामी उपचाररत छन् र वैकल्पिक स्थानको टुंगो नलागेकाले सेवा प्रभावित हुने अवस्था सिर्जना भएको छ।
उता, कोशी अस्पताल प्रशासनले भने सरकारी निर्णय कार्यान्वयन गर्दै पहिलो चरणमा व्यापारिक प्रयोजनका लागि प्रयोग भएका संरचना हटाइएको जनाएको छ। सम्बन्धित संस्थाहरूलाई वैकल्पिक व्यवस्थापनका लागि यसअघि नै सूचना दिइसकिएको अस्पताल प्रशासनको भनाइ छ।