सहकारी पीडितलाई राहत, करिब तीन हजार बचतकर्ताले पाउनेछन् बचत रकम

1k Shares

काठमाडौं । बागमती प्रदेशअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्न सुरु गरेको छ ।

समितिका सदस्य रामेश्वर ढकालका अनुसार समस्याग्रस्त घोषित सिभिल, दर्शन, सुमेरु, नेशनल नमोबुद्ध र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई अधिकतम एक लाख रुपैयाँसम्मको बचत रकम फिर्ता गरिनेछ ।

ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत फिर्ता कार्यक्रमको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री बानियाँको उपस्थितिमा केही दिनअघि भएको छलफलपछि असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरिएको थियो। समितिले बचतकर्ताको विवरण प्रमाणीकरण (भेरिफिकेसन) गर्ने प्रक्रिया पनि पूरा गरिसकेको जनाएको छ ।

समितिका अनुसार बचत फिर्ताका लागि करिब ९ करोड रुपैयाँ व्यवस्थापन गरिएको छ । योजनाअनुसार सिभिल, सुमेरु, लालीगुराँस र नेशनल नमोबुद्ध सहकारीका बचतकर्ताले अधिकतम एक लाख रुपैयाँसम्म फिर्ता पाउनेछन् भने दर्शन बचत तथा ऋण सहकारीका बचतकर्तालाई अधिकतम १० हजार रुपैयाँसम्म उपलब्ध गराइनेछ ।

यस व्यवस्थाबाट पाँच सहकारीका करिब तीन हजार साना बचतकर्ता प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको समितिले जनाएको छ।

यसअघि समितिले जेठ २२ गते समस्याग्रस्त घोषित ती सहकारीका ११४ जना ठूला ऋणीको नाम सार्वजनिक गर्दै सहकारीबाट लिएको ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो ।

सम्बन्धित समाचार