चितवन । अविरल वर्षासँगै आएको पहिरो र माथिबाट लेदो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातार वर्षा भइरहेका कारण थप पहिरोको जोखिम बढेपछि प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त सडकमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार सोमबार साँझदेखि विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो। अवरुद्ध सडकमा रोकिएका यात्रु र सवारीसाधनलाई पहिरो पन्छाएर सोमबार बेलुकासम्म गन्तव्यतर्फ पठाइएको थियो ।
तर, क्षेत्रमा वर्षा नरोकिएकाले थप पहिरोको जोखिम उच्च रहेको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय चितवनले विपद् व्यवस्थापन समितिको आपतकालीन बैठकपछि तत्कालका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
हाल जलबिरे नजिक पुनः पहिरो खसेको सडक डिभिजन कार्यालयले जनाएको छ। पहिरो हटाउन डोजरसहितका उपकरण परिचालन गरिए पनि निरन्तर वर्षाका कारण सडक खुलाउने काम प्रभावित भइरहेको छ ।
प्रशासनले अत्यावश्यक कामबाहेक उक्त सडकखण्डको यात्रा नगर्न तथा यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।