मानव अधिकार उल्लंघनमा नागरिक अधिकारका घटना उच्च, कोशीमा ३३१ पीडित

995 Shares

कोशी प्रदेश । कोशी प्रदेशमा सन् २०२६ को पहिलो छ महिनामा मानव अधिकार उल्लंघनका घटनाबाट ३३१ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको छ। मानव अधिकार एलाइन्सको २७औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो।

‘कोशी प्रदेशमा मानव अधिकारको अवस्था’ विषयक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशका प्रमुख मनोहर पोखरेलले समीक्षा अवधिमा मानव अधिकार उल्लंघनका ३३१ घटना अभिलेख भएको जानकारी दिनुभयो।

उहाँका अनुसार समीक्षा अवधिमा नागरिक अधिकारसँग सम्बन्धित १५९, महिला अधिकारसँग सम्बन्धित ६१ तथा बालअधिकारसँग सम्बन्धित १११ वटा घटना अभिलेख भएका छन्। तुलनात्मक रूपमा सन् २०२५ मा कोशी प्रदेशमा मानव अधिकार उल्लंघनका एक हजार ४८९ वटा घटना अभिलेख भएका थिए।

कार्यक्रममा देशभरका कारागारको अवस्थाबारे पनि जानकारी गराइएको थियो। प्रस्तुत तथ्याङ्कअनुसार देशभर १६ हजार ९५६ कैदीबन्दी राख्ने क्षमता भएका कारागारमा हाल २५ हजार ९२ जना कैदीबन्दी रहेका छन्। यस्तै, विभिन्न कारागारबाट ३ हजार ८०३ जना कैदीबन्दी फरार रहेको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमले मानव अधिकार संरक्षण र उल्लंघनका घटना न्यूनीकरणका लागि राज्य, सरोकारवाला निकाय तथा नागरिक सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो।

उहाँले कानुनविपरीतका कार्य जानी वा नजानी गरिएको भए पनि कानुन सबैका लागि समान रूपमा लागू हुने उल्लेख गर्दै नागरिकलाई कानुनी सचेतना बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो।

सम्बन्धित समाचार