काठमाडौं । अविरल वर्षापछि बाढी, पहिरो र खोलामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमार्गमा सवारी आवागमन रोकिएको छ । साथै हेटौँडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं सडकमा सोमबार साँझ ५ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्म सवारी सञ्चालन रोकिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार आइतबार रातिदेखिको लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलामा पानीको बहाव बढ्दा सडकहरू उच्च जोखिममा पुगेपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।
प्रशासनका अनुसार सिस्नेरी–काठमाडौं सडक प्रयोग गर्ने सवारीसाधन हेटौँडाको चौकीटोल र कान्ति लोकपथ प्रयोग गर्ने सवारीसाधन हेटौँडा–६ चौघडा क्षेत्रमा रोकिने व्यवस्था गरिएको छ।
जिल्ला प्रशासनले यात्रु, यातायात व्यवसायी तथा चालकलाई तोकिएको समय र स्थानपछि सडकमा यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न तथा मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचनाको निरन्तर पालना गर्न आग्रह गरेको छ।