लुम्बिनी प्रदेशका आयोजनामा नयाँ डिजाइन र ‘पूर्वाधार डायरी’ ल्याइने

1.4k Shares

गुल्मी । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले प्रदेश सरकारको छुट्टै पहिचान स्थापित गर्न पूर्वाधार आयोजनाको डिजाइन, सूचना प्रणाली र प्रविधिमा सुधार गर्ने तयारी भइरहेको बताउनुभएको छ।

गुल्मीको सदरमुकाम तम्घासमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खत्रीले प्रदेश सरकारले गरेका काम जनतासम्म स्पष्ट रूपमा पुर्‍याउन नयाँ कार्यशैली अपनाइएको जानकारी दिनुभयो।

उहाँका अनुसार प्रदेशका युवालाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग जोड्ने उद्देश्यले चालु आर्थिक वर्षको बजेटमै आवश्यक व्यवस्था गरिएको छ। साथै बजेट वितरणमा क्षेत्रीय सन्तुलन कायम गर्ने नीति अवलम्बन गरिएको पनि उहाँले बताउनुभयो।

मन्त्री खत्रीले विकास आयोजनाको जिम्मेवारी कुन तहको सरकारले पूरा गरेको हो भन्ने अन्योल अन्त्य गर्न ‘पूर्वाधार डायरी’ तयार पार्ने योजना रहेको जानकारी दिनुभयो। उक्त डायरीमा आयोजनाको विस्तृत विवरण, प्रगतिका तस्बिर तथा सम्बन्धित जानकारी समेटिनेछ। प्रदेश सरकारअन्तर्गतका कार्यालयले गरेका कामलाई व्यवस्थित रूपमा जनतासम्म पुर्‍याउने उद्देश्यले यो अवधारणा अघि सारिएको उहाँको भनाइ छ।

उहाँका अनुसार प्रदेश सरकारका आयोजना संघीय सरकारका आयोजनाभन्दा फरक पहिचान हुने गरी सूचना बोर्ड, रङ र डिजाइनसमेत परिवर्तन गरिनेछ।

“जनतामा प्रदेश सरकारले गरेको कामबारे अझै पनि भ्रम छ। त्यो भ्रम हटाउन प्रदेशको छुट्टै पहिचान स्थापित गर्ने गरी काम अघि बढाएका छौं,” मन्त्री खत्रीले भन्नुभयो।

उहाँले विकास आयोजनाका लागि जनताबाट बजेटको माग धेरै आउने तर आयोजना सम्पन्न भएपछि त्यसबारे पर्याप्त जानकारी नपुग्दा विभिन्न प्रश्न उठ्ने गरेको उल्लेख गर्नुभयो।

प्रदेश सरकारले गरेका विकास कार्य प्रभावकारी रूपमा जनतासम्म पुर्‍याएर सेवा प्रवाहको अनुभूति दिलाउने तथा प्रदेश सरकारप्रतिको नकारात्मक धारणा परिवर्तन गर्ने लक्ष्य रहेको मन्त्री खत्रीले बताउनुभयो।

भौतिक पूर्वाधार विकास मन्त्रालयको कामबारे सबैभन्दा बढी आलोचना हुने गरेको स्वीकार गर्दै उहाँले ३० लाख रुपैयाँभन्दा कम लागतका आयोजना प्रदेश सरकारले सञ्चालन नगर्ने नीति मा जोड दिइरहेको जानकारी दिनुभयो। साथै विकास आयोजनाको नियमित र प्रभावकारी अनुगमनका लागि व्यवस्थित अनुगमन संयन्त्र निर्माण गर्ने तयारीसमेत भइरहेको उहाँले बताउनुभयो।

सम्बन्धित समाचार