राजदुवाली सडक थप भासियो, इलामको यातायात व्यवस्था प्रभावित

1.2k Shares

इलाम । लगातार दुई दिनदेखि परेको वर्षाले इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसँगको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। पहिरो, सडक भासिने र खोलामा आएको बाढीका कारण मुख्य तथा वैकल्पिक दुवै सडक अवरुद्ध भएपछि यातायात सेवा ठप्प बनेको हो।

मेची राजमार्गअन्तर्गत माइखोलास्थित राजदुवाली सडक खण्डमा चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्। आइतबार मोटरसाइकललाई सीमित रूपमा आवतजावत गर्न दिइए पनि सोमबार सडक थप भासिएपछि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ।

राजदुवाली खण्डको विकल्पका रूपमा प्रयोग हुँदै आएको सिमलगोलाई–तिल्केनी सडक पनि अवरुद्ध भएको छ। जोगमाई खोलामा बनाइएको डाइभर्सनमाथिबाट आइतबारदेखि बाढी बग्न थालेपछि उक्त सडक प्रयोग गर्न नसकिने अवस्था बनेको हो।

यस्तै, इलाम–झापा जोड्ने केचना–कञ्चनजङ्घा फास्ट ट्र्याकअन्तर्गत पुवा खोलाको डाइभर्सनमाथिबाट पनि बाढी बगिरहेकाले यातायात सञ्चालनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

सडक डिभिजन कार्यालय इलामका अनुसार पुवा खोला र जोगमाई खोलामा जडान गर्ने तयारी गरिएको बेलीब्रिज भारतबाट हालसम्म नआएकाले समस्या समाधान हुन सकेको छैन। त्यसका कारण वैकल्पिक सडक सञ्चालनमा ल्याउने प्रयाससमेत प्रभावित बनेको छ।

झापाबाट इलाम हुँदै पाँचथर र ताप्लेजुङ जाने सबै सडक बन्द भएपछि माइखोलापारि ठूलो सङ्ख्यामा मालवाहक सवारीसाधन रोकिएका छन्। इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलका अनुसार खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री बोकेका ट्रकहरू बीच बाटोमै अलपत्र परेका छन्।

उहाँका अनुसार ट्रकमा रहेका सामग्री अर्को सवारीमा सार्ने अवस्था पनि छैन। वर्षाका कारण ट्रकको पाल चुहिँदा खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीसमेत बिग्रने जोखिम बढेको छ। अब इलामका लागि तमोर करिडोर हुँदै बढी लागतमा सामग्री ढुवानी गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो।

सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि यात्रा गरिरहेका सर्वसाधारण पहिरो प्रभावित राजदुवाली सडक खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन्। निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिमसमेत कायम रहेको भन्दै स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार