काठमाडौँ । लगातारको वर्षापछि कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा पानी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासी फेरि सडकमा बस्न बाध्य भएका छन् ।
केही महिनाअघि नदीकिनारका बस्तीबाट स्थानान्तरण गरिएका परिवारहरू अहिले सुरक्षित आश्रयस्थलमै डुबानको समस्या झेलिरहेका छन् ।
होल्डिङ सेन्टरभित्रका अस्थायी टेन्ट तथा बसोबास क्षेत्र जलमग्न भएपछि दैनिक जीवन कष्टकर बनेको प्रभावितहरूको गुनासो छ। वर्षाका कारण ओछ्यान, लत्ताकपडा र खाद्यान्नसमेत भिजेको तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई बढी समस्या परेको उनीहरूले बताएका छन् ।
विस्थापित परिवारहरूले अस्थायी व्यवस्थाले मात्रै समस्या समाधान नहुने भन्दै सुरक्षित र दीर्घकालीन आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले बाढी र डुबानको जोखिम नरहेको स्थानमा स्थायी पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
यसअघि पनि होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूले राहतभन्दा स्थायी व्यवस्थापनको माग गर्दै सरकारका विभिन्न प्रस्तावप्रति असन्तुष्टि जनाएका थिए ।
लगातारको वर्षासँगै होल्डिङ सेन्टरमा पानी पस्दा विस्थापित परिवारको बसाइ थप असुरक्षित बनेको छ भने तत्काल राहत, सुरक्षित आवास र दीर्घकालीन पुनःस्थापनाको आवश्यकता झन् टड्कारो बनेको छ ।