विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा गाँजा तस्करीको आरोपमा प्रहरीबाट भाग्ने क्रममा पोखरीमा हाम फालेर ज्यान गुमाएका १७ वर्षीय मञ्जितकुमार यादवको शव उठाउने क्रममा शुक्रबार तनाव उत्पन्न भएपछि प्रहरीले बल प्रयोग गरेको छ। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले २१ सेल अश्रुग्यास प्रहार गरेका छन्।
प्रहरीका अनुसार गत बुधबार ६ किलो १२० ग्राम गाँजासहित मोटरसाइकलमा भाग्ने प्रयास गर्दा मञ्जितकुमार यादव भेडियारीस्थित पोखरीमा हाम फालेर बेपत्ता भएका थिए। उनीसँगै रहेका भारतीय नागरिक ४१ वर्षीय शिवधर यादवलाई भने प्रहरीले नियन्त्रणमा लिएको थियो।
शुक्रबार बिहान पोखरीबाट मञ्जितकुमारको शव फेला परेपछि आफन्त र स्थानीयवासीले दोषी प्रहरीमाथि कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै शव उठाउन अवरोध गरेका थिए। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार भीडलाई नियन्त्रणमा लिन २१ सेल अश्रुग्यास प्रहार गरिएको थियो। झडपका क्रममा दुई जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् भने प्रहरीले दुई जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
स्थिति सामान्य बनेपछि प्रहरीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ। पोस्टमार्टम प्रक्रिया पूरा भएपछि शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।